झापाः प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत झापाको कमल गाउँपालिकामा एक हजार २ सय भन्दा बढी आवेदन परेको छ ।

आवेदन दिएकामध्ये पहिलो चरणमा छनोट भएका ९९ जनालाई कम्तीमा ३० दिन रोजगारी दिने तयारी भएको गाउँपालिकाका रोजगार संयोजक भरतचन्द्र तिवारीले जानकारी दिए ।

दर्ता भएका निवेदनअन्तर्गत पहिलो चरणमा अदक्ष जनशक्तिलाई रोजगारी दिइने रोजगार संयोजक तिवारीले बताए । पहिलो चरणमा छनोट भएका अदक्ष कामदारलाई सडक निर्माण, स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ, कुलो पैनी निर्माण, फलफूल बगँैचा व्यवस्थापन, वन तथा जलाधार जस्ता क्षेत्रमा काम लगाइने संयोजक तिवारीले बताएका छन् ।

निर्देशिकामा उल्लेख भएअनुसार कामका लागि पारिश्रमिक निर्धारण भएकाले अदक्ष कामदारले दैनिक ५ सय १७ रुपैयाँ पारिश्रमिक पाउनेछन् । कमल गाउँपालिकामा कामका लागि पारिश्रमिक भनेर आएको २२ लाख रुपैयाँमध्ये ७० प्रतिशत रकम अनिवार्य रूपमा यस्ता श्रमिकको पारिश्रमिकमा खर्च गर्नुपर्ने व्यवस्था रहेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले २०७६ साल वैशाख मसान्तसम्ममा आवेदन दिनुपर्ने थियो । गाउँपालिकाका ७ वटा वडामध्ये सबैभन्दा धेरै वडा नम्बर २ बाट ३ सय र सबैभन्दा कम वडा नम्बर ५ बाट ७४ जना गरी १ हजार २ सय ७० जनाको निवेदन दर्ता भएको संयोजक तिवारीले बताए ।60621379_2048794315231551_1006607795786612736_o 1