सङ्खुवासभाः खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको १३ लाख बढी रकम हिनामिना गर्ने काउन्टर सहायक सुरेश ढकालविरुद्ध समितिले उजुरी गरेको छ ।
काउन्टर सहायक ढकालले हिनामिना गरेको १३ लाख ९५ हजार ४७ रुपैयाँ रकम बुझाउन ७ गते अन्तिम म्याद तोके पनि अहिलेसम्म नबुझाएकाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको खानेपानी समितिका अध्यक्ष नरेन्द्र राईले जानकारी दिए ।
समितिले पटक–पटक पत्राचार गरेर तथा मौखिक जानकारी गराउँदासमेत अटेर गरेपछि बाध्य भएर प्रशासनमा उजुरी गरेको अध्यक्ष राईले बताए । उनले भने, ‘समितिभित्र के गर्ने भनेर छलफल भयो अनि कानुनी ढङ्गले अघि बढौँ भन्ने भएपछि जिल्ला प्रशासनमा रकम असुल गर्न उजुरी दिएका छौँ ।’ काउन्टर सहायक ढकालले १३ लाख ९५ हजार ४७ रुपैयाँ अनियमितता गरेको प्रतिवेदन केही दिनअघि सार्वजनिक भएको हो ।
काउन्टर सहायक ढकालले पानीको महसुल उठाउन प्रयोग गरेको रसिदको अर्धकट्टीमा लुकाएर र अर्धकट्टीमा रद्द लेखेर रकम हिनामिना गरेको लेखा प्रतिवेदनमा उल्लेख गरिएको छ । उता, लेखापाल लक्ष्मण पराजुलीले ६२ हजार ६ सय २७ र प्रशासन सहायक जुनिता कार्कीले ५ लाख ४५ हजार अनियमितता गरेको रकम भने दाखिला भइसकेको समितिले जनाएको छ ।
लेखापाल लक्ष्मणले सफ्टवेयर प्रणाली र प्रशासन सहायक जुनिताले ५ प्रतिशत अनुदानको रकम अनियमितता गरेको प्रतिवेदनमा उल्लेख भएको थियो । उनीहरूलाई समितिले ४ महिनाअघि नै निलम्बन गरिसकेको छ । खानेपानी कार्यालयमा आर्थिक रकम हिनामिना भएको गुनासो आएपछि महसुल र उपभोक्ताबाट उठाएको रकमबारे छानबिन गर्न समिति बनेको थियो ।
गत माघ १५ गते तत्कालीन खाँदबारी नगरपालिकाका लेखा अधिकृत रुद्रमणि श्रेष्ठको संयोजकत्वमा बनेको छानबिन समितिले बैशाख १५ गते प्रतिवेदन बुझाएको थियो ।