बेलबारीः जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मोरङको आयोजनामा सहकारीका अध्यक्ष र सचिवको भेला बेलबारीमा सम्पन्न भएको छ ।

सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ सम्बन्धी अन्तरक्रियात्मक १७ औँ अध्यक्ष सचिव गोष्ठी सम्पन्न भएको आयोजकले जनाएको छ । शनिबार बेलबारी १ स्थित मदनमोहन आश्रित पुष्परत्न सांस्कृतिक भवनमा आयोजित कार्यक्रममा सहकारी संस्थाको गठनका साथै बचत तथा ऋण सहकारी संस्थाको मापदण्ड, कार्यक्षेत्रसम्बन्धी व्यवस्थालगायत विविध विषयमा अन्तरक्रिया र छलफल भएको थियो ।

कार्यक्रममा जिल्लामा उत्कृष्ट संस्थाका रूपमा फडानी साकोस लेटाङ, भलुवा साकोस केराबारी, रमाइलो साकोस कानेपोखरी, सुनपकुवा साकोस, लेटाङ साकोस, पौरखी साकोस, हितकारी साकोस केराबारी, जनचाहना साकोस, सामुदायिक साकोस केराबारी, जनमुखी साकोस कानेपोखरीलाई सम्मानसमेत गरिएको छ । जिल्ला बचत तथा ऋण सहकारी सङ्घ मोरङका अध्यक्ष सोमनाथ निरौलाको सभापतित्व र नेफ्स्कुनका केन्द्रीय कोषाध्यक्ष केशवप्रसाद पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।