बेलबारीः मोरङ जिल्लाका स्थानीय तहका प्रमुख र उपप्रमुखहरूले सङ्घीय तथा प्रदेश सरकारसँग आगामी आर्थिक वर्षमा ठूला योजनाहरूका लागि बजेट व्यवस्थापन गरिदिन माग गरेका छन् ।

उनीहरूले स्थानीय तहहरूको साझा सरोकारको विषयमा साझा सहमति खोज्ने निर्णय गरेका छन् । सुन्दरहरैंचाको गोकुलम रिसोर्टमा बसेको बैठकले अन्तर स्थानीय तहका साझा सरोकारका विषयमा एउटै योजना बनाउने निर्णय गरेका छन् ।

उनीहरूले फोहोरमैला व्यवस्थापन, वारुण यन्त्र सञ्चालन, नदीजन्य पदार्थको ठेक्का, बन्दोबस्ती, पूर्वाधार उपभोग कर, ठेक्का बन्दोबस्ती र ऐन, कानुन निर्माणमा एकरूपता जनाउने भएका छन् । अन्तर स्थानीय तहका संयोजक तथा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीको अध्यक्षतमा बसेको बैठकले अन्तर स्थानीय तहका समस्या छलफल गर्ने समेत निर्णय गरेको छ ।

बैठकमा उपस्थित स्थानीय तहका अधिकांश प्रमुख र उपप्रमुख स्थानीय तहमा रहेका खोला तथा नदीजन्य उत्खननमा स्थानीय तह जिम्मेवार हुनुपर्नेमा सहमत भएका थिए । सबै स्थानीय तहमा एकरूपता ल्याउन एकै किसिमको कानुन निर्माणको पहल गर्नेसमेत निर्णय गरिएको संयोजक सुवेदीले बताए ।

प्रदेश तथा सङ्घीय सरकारसँग स्थानीय तहसँग सम्बन्धित कानुनहरू छिटो बनाउनसमेत बैठकले माग गरेको छ । यस्तै, प्रदेश सरकारले बजेट खर्च गर्न नसक्दासमेत स्थानीय तहमा टुक्रे बजेट दिएको अन्तर स्थानीय तहका मेयर उपमेयरहरूको गुनासो रहेको थियो ।