धरानः सङ्घीय समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईको पहलमा धरानको भौतिक पूर्वाधार विकासमा २० करोड रुपैयाँ विनियोजन भएको छ ।

विनियोजित बजेटबाट धरानका २ वटा वडामा ५ किलोमिटर सडकलाई कालोपत्रे गरिने भएको छ । सङ्घीय समाजवादीका नगर अध्यक्ष ताजुब लिम्बूका अनुसार धरानको १५ नम्बर वडा र १७ नम्बर वडामा पर्ने कृष्णपथदेखि धरान १७ को इन्द्रेणी मार्ग सम्मको ५ किलोमिटर सडक कालोपत्रे गर्न उक्त रकम खर्च हुँदै छ ।

‘२ वर्षभित्रमा सो सडकलाई कालोपत्रे गर्ने योजना रहेको छ’, उनले भने । धरानका भौतिक पूर्वाधारका क्षेत्रमा थप बजेट विनियोजन गर्न पार्टीका नेता लागिरहेको पनि उनले जानकारी दिए ।

धरानका अन्य विविध क्षेत्रहरूमा पनि बजेट विनियोजन गर्न पहल भइरहेको अध्यक्ष लिम्बूले बताए । सङ्घीय समाजवादी पार्टीका नेता अशोक राईले गत सङ्घीय निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेद्वारी दिँदा आफू धरानको विकासका लागि निरन्तर लाग्ने बताएका थिए ।