उर्लाबारीः मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ४ का चतुरलाल राजवंशी मूर्तिकलामा अब्बल छन् । बुवा महिचन राजवंशी र आमा चपनी राजवंशीको कोखबाट जन्मिएका उनी विभिन्न देवता र जनावरको दुरुस्तै आकृति झल्किने मूर्ति बनाउने अब्बल क्षमता राख्छन् ।

३८ वर्षीय राजवंशीले कुनै साधन र सैद्धान्तिक ज्ञान बिनै मूर्ति बनाउने गरेका छन् । कसैले अर्डर गरे मात्र मूर्ति बनाउने गरेका राजवंशीले गतिलो अवसर र आर्थिक सहयोग पाए व्यावसायिक रूपमै मूर्ति निर्माण उद्योग शुरु गर्ने इच्छा रहेको बताए ।
२५ वर्ष अघिदेखि मूर्ति बनाउन थालेका उनले भारतको सिक्किम र नेपालको विभिन्न भागमा पुगेर मूर्ति बनाइसकेका छन् । विभिन्न मन्दिर, धार्मिक स्थल, पर्यटकीय स्थलका लागि २ हजार भन्दा बढी मूर्ति निर्माण गरिसकेको उनको भनाइ छ ।
घरेलु स्रोत र साधनको प्रयोग गर्दै निकै सस्तोमा मूर्ति बनाउने राजवंशीले राम्रो अवसर पाए आफूभित्रको ज्ञानलाई अझै धेरै फैलाउने धोको रहेको बताए । मासिक रूपमा अवस्था हेरी ५० हजारदेखि १ लाख रुपैयाँसम्म कमाउँदै आएको उनको भनाइ छ । राजवंशीले देवी देवताको मूर्ति मात्र होइन विभिन्न व्यक्तिको सालिक र जनावरको प्रतिमा पनि बनाउने गरेका छन् ।
पित्तल, तामा, जस्तालगायतबाट बनाइने परम्परागत मूर्तिकला मात्रै होइन ढुङ्गामा कँुदेर पनि उनी राम्रा मूर्ति तयार पार्छन् । विभिन्न प्रकारका मूर्ति बनाउनका लागि राजवंशीसँग कुनै प्रविधि र साधन नभए पनि उनले बनाएका निकै सुन्दर र कलात्मक मूर्ति बनाई सबैलाई मोहित पार्छन् ।