इटहरीः मोरङको उर्लाबारी–१ मा मापदण्ड विपरीत रहेका क्रसर उद्योग खुलाउन चलखेल शुरु भएको छ ।
उर्लाबारी नगरपालिकामा मङ्गलबार भएको छलफलमा नियामक निकाय नै क्रसर उद्योगीको पक्षमा उभिएर क्रसर उद्योग खुलाउन लागि परेको हो । जिल्ला समन्वय समिति मोरङले जेठ १० गते पत्र पठाउँदै पञ्चेश्वर क्रसर उद्योग सञ्चालन नगर्न भनेको थियो भने उर्लाबारी–६ का जनप्रतिनिधि सचिन शाक्यको माँ पाथीभरा, मिक्लाजुङ गाउँपालिकाका बबीकुमार राईको देवीस्थान मिनरल्स र पंकज शाक्यको सिद्धार्थ एग्रोगेट क्रसर उद्योगको तयारीका सम्पूर्ण काम रोक्न आदेश दिएको थियो ।
जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोख्रेल, उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोलगायतले क्रसर उद्योगीकै पक्ष लिएको छलफलमा सहभागीले बताएका छन् । तर, स्थानीयले भने कुनै पनि हालतमा मापदण्डविपरीतका क्रसर उद्योग सञ्चालन गर्न नदिने अडान राखेका छन् । उनीहरूले मानव बस्तीमा ठूलो असर पु¥याएको भन्दै कि बस्ती हटाऊ कि क्रसर हटाऊ भन्ने माग जोडदारका साथ राखेको बताएका छन् ।
समितिका संयोजक पोख्रेल र मेयर फागोले छलफलमा क्रसर उद्योग कसैले हटाउन वा स्थानान्तरण गर्न नसकिने भन्दै गैरजिम्मेवार जवाफ दिएको छलफलमा सहभागीको भनाइ छ ।
उता, उर्लाबारी नगरपालिका वडा नं. १ का वडाध्यक्ष मचिन्द्र कार्कीले कानुनअनुसार क्रसर उद्योग चल्नुपर्ने बताएका थिए । उनले जनतालाई असर पु¥याउने तरिकाले क्रसर सञ्चालन गर्न नहुने बताएका छन् । यस विषयमा जिल्ला समन्वय समिति मोरङका संयोजक पोख्रेलसँग सम्पर्क गर्दा क्रसर व्यवसायी र स्थानीयवासी सहमतिमा आउन आग्रह गर्दै भोलि जेठ १६ गते पुनः छलफल गरिने बताए । मापदण्डविपरीत उर्लाबारी–१ मै रहेको पूर्वेली क्रसर उद्योग भने सञ्चालन भइरहेको छ ।
उर्लाबारी वडा नं. १ का स्थानीयवासी मापदण्डविपरीतका क्रसर हटाउन माग गर्दै गत चैत १५ गतेदेखि निरन्तर रिले अनसन बसिरहेका छन् ।