इटहरीः सङ्घीय सरकारले बुधबार ल्याएको बजेटमा इटहरीका व्यवसायीहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । उद्योग वाणिज्य (उवा) सङ्घ इटहरीका अध्यक्ष तथा प्रदेश सांसद लीलम बस्नेतले बजेटले तल्लो तहका जनतालाई समेटेको बताए ।

पूर्व अर्थसचिवले समेत पढेलेखेको मान्छेले ल्याएको सुन्दर बजेट भनेको बताउँदै बस्नेतले यो बजेटले नेपालको राष्ट्रिय सपानाको बाटो कोरेको बताए । ‘बजेटले प्रधानमन्त्रीले ल्याउनुभएको समृद्ध नेपाल, सुखी नेपालीको बाटो कोरेको छ’, बस्नेतले भने, ‘कार्यान्वयन पक्षमा भने ध्यान दिनुपर्छ ।’

उवा सङ्घ इटहरीका वरिष्ठ उपाध्यक्ष शैलेश बिष्टले बजेटले इटहरीलाई मेगा सिटी बनाउन अध्ययन गर्ने भनेकाले राम्रो भएको बताए । इटहरी प्रदेश १ को केन्द्रीय शहर भएकाले मेगा सिटी बनाउन आवश्यक भएको भन्दै बिष्टले बजेटबाट इटहरी, प्रदेश १ र समग्र देशलाई फाइदा हुने बताए । आयकरको दायरा बढाइएकाले मध्यम आय भएकाहरूलाई बजेटले न्याय गरेको बिष्टले बताए ।

व्यवसायी देवराज मादेनले सङ्घीय सरकारको बजेटले प्रदेश १ र इटहरीको लागि राम्रो परिकल्पना गरेको बताए । तमोर– चिसाङ डाइभर्सन आयोजना, २ लेनका उत्तर–दक्षिण तमोर करिडोर आयोजना, ओलाङचुङगोलामा भन्सार पूर्वाधार बनाउने काम राम्रो भएको मादेनले बताए । उनले भने, ‘कार्यान्वयन पक्ष बलियो भएमा यो बजेट दीर्घकालीन महत्वको छ ।’ इटहरीमा जोगबनीबाट रेल ल्याउने बारेमा अध्ययन गर्न समेत बजेटले समेटेको भन्दै मादेनले बजेटको तारिफ गरे ।

उवा सङ्घ इटहरीका सदस्य भीम पौडेलले बजेटले समग्र क्षेत्र समेट्न खोजे पनि उत्साहप्रद नभएको संक्षिप्त प्रतिक्रिया दिए ।
उद्योग वाणिज्य सङ्घ इटहरीका पूर्व महासचिव दिवस पोखरेलले बजेटले सपना देखाएको तर कार्यान्वयन पक्षमा शङ्कैशङ्का भएको प्रतिक्रिया दिए । इटहरीलाई मेगा सिटी बनाउने र विराटनगरसम्म आएको रेललाई इटहरीसम्म ल्याउने बजेटका कुरामा आफूलाई शङ्का लागेको पोखरेलले बताए ।

‘सरकारले चिनियाँ रेल आइहाल्छ भनेर प्रचार ग¥यो तर चिनियाँ राजदूतले केही हप्ताअगाडि पत्रकार सम्मेलन गरेर तत्काल आउन गाह्रो हुने बताइन्’, पोखरेलले भने, ‘यो इटहरीमा रेल आउने र मेगा सिटी बनाउने कुरा पनि यस्तै होला ।’

६ लेन सडकको लागि आवश्यक जग्गा लिन नसकेको सरकारले मेगा सिटी र इटहरीसम्म आउने रेलवे कसरी बनाउन सक्छ भन्ने शङ्का रहेको पोखरेलको तर्क छ ।