इटहरीः आज इटहरीमा दुग्ध प्रयोग र प्रशोधनको क्षेत्रमा एक मेगा प्रोजेक्टको शिलान्यास भएको छ ।२८ करोड ६१ लाख ३३ हजार ७० रुपैयाँको लगानीमा बन्ने ‘मिल्क पाउडर प्लान्ट स्थापना र सञ्चालन परियोजना’ नामक परियोजनाको शिलान्यास मुख्यमन्त्री शेरधन राईले गरे । यो प्लान्टमा इटहरीको कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेड, मोरङको सगरमाथा एकीकृत दुग्ध उद्योग प्रवद्र्धन केन्द्र प्रालि र विराटनगरको जीवन विकास डेरी प्रोडक्टर्स प्रालिको संयुक्त लगानी रहेको छ ।

इटहरी–१ को आँपगाछीको राष्ट्रिय मावि नजिकै बन्ने परियोजना कामधेनु दुग्ध विकास सहकारीको जग्गामा शिलान्यास भएको छ । यो प्लान्ट सहकारी र निजी क्षेत्रमा बनेको प्रदेशको पहिलो र प्रदेशमा स्थापना भएको दोस्रो प्लान्ट हो । यसअगाडि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले विराटनगरमा मिल्क पाउडर प्लान्ट सञ्चालन गरिरहेको छ ।

२०५७ साउन २४ गते स्थापना भएको कामधेनु सहकारीले साझेदारीमा गरेको यो सबैभन्दा ठूलो परियोजना हो । यसको नेतृत्व गर्दैछन् २०७५ असोज २७ गते कामधेनुको सञ्चालकमा पुनः अध्यक्ष भएर आएका बाबुराम दाहाल । उनै दाहालसँग पाउडर प्लान्ट र अन्य विषयमा प्रदेशपोर्टलकर्मी विराट अनुपमले कुराकानी गरेका छन् । कुराकानीको सारांशः

addd

२८ करोड भन्दा धेरै लगानीको पाउडर प्लान्टको लगानी कसरी सम्भव भयो ?

२८ करोड ६१ लाख ३३ हजार ७० रुपैयाँको लगानीमा बनेको पाउडर प्लान्टमा हामीसँगै दुई निजी संस्थाहरू जोडिनुभएको छ । मोरङको सगरमाथा एकीकृत दुग्ध उद्योग प्रवद्र्धन केन्द्र प्रालि र विराटनगरको जीवन विकास डेरी प्रोडक्टर्स प्रालि यो साझेदारीमा छन् । सगरमाथा र कामधेनु सहकारीको समान ४५ प्रतिशत सेयर रहेको छ भने १० प्रतिशत जीवन विकासको रहेको छ । प्लान्टमा कामधेनु र सगरमाथाको समान ३ करोड ८७ लाख ५५ हजार ३ सय ८२ रुपैयाँ लगानी रहेको छ भने जीवन विकासको ८६ लाख १२ हजार ३ सय ६ रुपैयाँ लगानी छ । यसमा प्रदेश १ सरकारले २० करोड अनुदान दिएको छ । यसरी लगानी जुट्न सम्भव भयो ।

उत्पादन कहिलेदेखि शुरु हुन्छ ?
हामीले ४२ कठ्ठामा फैलिएको यो प्लान्टको उत्पादन २०७७ को अन्तिम सम्ममा गर्नेगरी काम अगाडि बढाएका छौँ । हामी दैनिक ५० हजार लिटर दूधबाट ५ टन हाराहारी पाउडर दूध उत्पादन गर्नेछौँ ।

kamadhenu milk dairy plant opening pradeshportal.com

पाउडर प्लान्ट भएपछि दूध खपतमा कस्तो फरक हुनेछ ?

अहिले हामी कामधेनुबाट १५ हजार लिटर दूध दैनिक खपत गरिरहेका छौँ । उपभोक्तालाई दूधदेखि दुग्ध उत्पादनहरू यही दूधको परिमाणबाट पुर्याइरहेका छौँ । आगामी वर्षभित्र सञ्चालन हुने हाम्रो सहकारीको प्रोसेसिङ प्लान्टले २५ हजार लिटर खपत पुर्याउनेछ । प्लान्ट बनेपछि ५० हजार लिटर दूध खपत हुन्छ । यसले किसानहरूलाई र हामीलाई दुवैलाई फाइदा हुन्छ ।

अहिले मिल्क होलिडे नदिएको कुरा छ । अनि, यत्रो परिमाणको दूध कसरी व्यवस्थापन हुन्छ ?

म अध्यक्ष भएर आएपछि कामधेनुमा मिल्क होलिडे बन्द गरेका छौँ । धेरै भएको दूध हामी अहिले हेटौंडा, चितवन र काठमाडौँसम्म पुर्याउँछौँ । अब इटहरीमै पाउडर प्लान्ट बनेपछि दूध बेच्न हेटौंडासम्म पुग्नुपर्दैन । यो राम्रो कुरा हो ।

यो प्लान्टले रोजगार कत्ति बढाउँछ ?
प्लान्ट बनेपछि प्रत्यक्ष रूपमा ३० जनाले रोजगार पाउनेछन् भने अप्रत्यक्ष रूपमा अरू थप रोजगारहरू बन्न सक्छन् ।

kamadhenu cooperative milk powder plant itahari pradeshportal.com