धनकुटा: धनकुटाको आत्मारामा निर्माणाधीन औद्योगिक ग्राम सङ्घीय सरकारले प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको धनकुटा–६ आत्मारामा निर्माणाधीन लघु घरेलु औद्योगिक ग्राम १ नं. प्रदेश अन्तर्गतको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयलाई हस्तान्तरण गरिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले प्रदेश उद्योग मन्त्री जगदीश कुसियतलाई औद्योगिक ग्रामको स्वामित्व हस्तान्तरण गरेका हुन् । उद्योग मन्त्रालय मातहतको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय धनकुटाको संयोजनमा करीब ५२ रोपनी क्षेत्रफल जग्गामा औद्योगिक ग्रामको संरचना अहिले धमाधम निर्माण भइरहेको छ ।

 addd

विकास क्षेत्रका सदरमुकाममा औद्योगिक क्षेत्र स्थापना गर्ने नीति अनुरूप तत्कालीन राजा वीरेन्द्रको क्षेत्रीय भ्रमणको क्रममा २०४० सालमा धनकुटालाई औद्योगिक क्षेत्र घोषणा गरिएको थियो । औद्योगिक व्यवस्थापन लिमिटेड काठमाडौंको नाममा रहेको सो जग्गामा लामो समयसम्म उद्योग स्थापना हुन नसकेपछि २०७३ माघको मन्त्रीपरिषद्को बैठकबाट निर्णय भई घरेलु कार्यालयको नाममा नामसारी भएको थियो ।
आर्थिक वर्ष २०७३÷७४ देखि औद्योगिक ग्रामको पूर्वाधार निर्माणको काम अघि बढेको थियो । छरिएर रहेका घरेलुजन्य उद्योगलाई एकत्रित गर्ने उद्देश्यका साथ सो ग्राम निर्माण गरिएको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय धनकुटाका निर्देशक दीपक पौडेलले बताए ।