बेलबारीः सुगम जिल्लाकै जनप्रतिनिधि खानेपानी लिनका लागि लाइनमा बस्ने गरेका छन् । प्रदेशको राजधानी भएकै जिल्लामा खानेपानी लिनका लागि धारामा जनप्रतिनिधि नै लाइनमा बस्नुपर्छ । पूर्वी मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ का जनप्रतिनिधिलगायत स्थानीय पानी लिन धारामा लाइन लाग्ने गरेका छन् ।
‘खानेपानी लिन धारामा बिहानैदेखि लाइनमा बस्नुपर्छ’, मिक्लाजुङ–२ की रत्नकुमारी थापाले भनिन्, ‘एक गाग्री पानी भर्न १० देखि १५ मिनेट लाग्छ ।’ पानी थाप्नकै लागि राती नै उठेर घरको अरु काम सक्नुपर्ने उनले बताइन् । बिहानैदेखि २ र ३ नम्बर वडावासी पानी आउने धारामा लाइन लाग्ने गर्छन् । पानी लिनकै लागि एक जनालाई काम जिम्मा दिनुपर्ने बाध्यता रहेको स्थानीय महिला बताउँछन् ।
धारा हेरैरै चित बुझाउँदै बस्दै आएको उनीहरूको भनाइ छ । ‘यो अहिलेको मात्रै समस्या होइन’, स्थानीय उषा राईले भनिन्, ‘यो समस्या झेल्दै आएको ५० वर्ष भन्दा बढी भइसक्यो ।’
घरघरमा धारा ल्याउने चुनावी नारामात्रै
‘बिहानैदेखि लाइनमा बसेर पानी थाप्नुपर्छ’, वडा सदस्य कमलकुमारी राईले भनिन्, ‘वडाका धेरैतिर धारा छन् तर पानी छैन ।’ आफूले चुनावको समयमा खानेपानी घरघरमा ल्याउने एजेन्डा बनाए पनि अहिले धारामा आफैँ लाइनमा लाग्दा दुःख लाग्ने गरेको उनले बताइन् । ‘पानीको स्रोत नै सानो छ’, उनले भनिन्, ‘धारामा पानी लिन आउँदा विद्यालयमा हुने प्रार्थनाको भन्दा लामो लाइन लाग्नुपर्छ ।’
खानेपानी अभाव हँुदा मिक्लाजुङ गाउँपालिकाका वडा नम्बर २ र ३ मा बढी समस्या रहेको छ । धारामा पानी नआउँदा अहिले विवाह व्रतबन्धजस्ता सामाजिक कार्यसमेत उर्लाबारीमा गर्नुपर्ने बाध्यता रहेको छ ।
मिक्लाजुङ–२ मा रहेको भगवती आधारभूत विद्यालयकी एक शिक्षिकाले आफ्नो विवाह उर्लाबारीमा गरेकी छिन् । शिक्षिका विष्णुमाया घिमिरेले घरमा आउने पाहुनालाई खानेपानी दिन नसक्ने भएपछि उर्लाबारीमा गएर विवाह गरेको सुनाइन् ।
पठनपाठनमा समस्या
पानीको अभाव भएपछि विद्यालयको पठनपाठनसमेत प्रभावित हुने गरेको भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक नरेश आचार्यले बताए ।
दिउँसो धारामा एकछिन पानी आउँदासमेत विद्यार्थीलाई अपर्याप्त हुने गरेको उनले बताए । शौचालयमा पनि जहिल्यै पानी अभाव हुने गरेको उनले बताए । पानी अभावमा विद्यालयमा विकास निर्माण समेत प्रभावित हुने गरेको प्रअ आचार्यले बताए ।
मिक्लाजुङमा २ वटा खानेपानीका ट्याङ्कीहरू रहेका छन् । एशियाली विकास बैंकको सहयोगमा एउटा र जिल्ला खानेपानी तथा सरसफाइ समन्वय समितिको एउटा ट्याङ्की रहेका छन् । २ नम्बर वडाकै लागि ७५ हजार लिटर क्षमताको ट्याङ्की आवश्यक भए पनि ६० हजार लिटर क्षमताको ट्याङ्कीबाट पानी वितरण गरिरहेको एडीबीस्तरीय खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष हर्कबहादुर राईले बताए ।
६० हजार क्षमताका ३ वटा ट्याङ्की भए पनि २०७२ सालको भूकम्पले ट्याङ्की चर्किएकाले पानी नअडिने गरेको उनले बताए । उनले दैनिक २ घण्टाभन्दा बढी समय एउटा धारामा पानी नछोडिने गरेको समेत बताए ।
उनले प्रदेश तथा स्थानीय सरकारसँग पटक पटक माग गरे पनि ट्याङ्की बनाउन कुनै पहल नभएको बताए । आश्वासन धेरै आए पनि बजेट भने नआएको उनको गुनासो रहेको छ । यता, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यसँग सम्पर्क गर्न खोज्दा उनको फोन उठेन । प्रदेश सरकारले सुख्खाग्रस्त क्षेत्रलाई महत्व दिने बताउँदै आएको छ ।