इटहरीः उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनको मिति नजिकिँदै गर्दा लोकतान्त्रिक प्यानलले आफ्नो उम्मेद्वारीसहित सङ्कल्पपत्र सार्वजनिक गरेको छ । सो प्यानलले सार्वजनिक शौचालय निर्र्र्माणदेखि व्यवसायको ५ लाखसम्मको निःशुल्क बीमा गर्ने कार्यक्रम अघि सारेको छ ।

लामो समयदेखि उठ्दै आएको सार्वजनिक शौचालयको विषयलाई सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत सम्पन्न गरिने सो समूहको योजना छ । व्यापारिक केन्द्रको रूपमा परिचित इटहरीमा असार १४ गते हुने उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनमा उम्मेद्वारी दिने क्रम शुरु भएको छ ।

इटहरीको दुर्गा पार्टी प्यालेसमा एक कार्यक्रमका बीच सार्वजनिक गरेको सङ्कल्पपत्रमा व्यवासायीका लागि ५ लाखसम्मको निःशुल्क बीमा गरिने, कर तथा घर बहालकरको समस्या समाधान गरिने, इटहरीमा प्रदर्शनी स्थल र औद्योगिक क्षेत्र स्थापना गर्ने, विज्ञ परामर्शदाताको व्यवस्था गरिने, जब फेयर तथा ट्रेड फेयर आयोजना गरिने लगायतका व्यावसायिक एजेण्डा समावेश गरिएको छ ।

हरेक ६ महिनामा व्यवसायीको घरैमा पुगेर समस्या सङ्कलन गर्ने पनि सङ्कल्प प्रस्तावमा समेटिएको छ । थोक र खुद्रा व्यापारी बीचमा देखिएको समस्यालाई समन्वयात्मक रूपमा हल गर्ने पौडेल समूहको योजना छ । त्यसका साथै औद्योगिक महोत्सव र रोजगार मेला लगाएर उद्योग र रोजगारीलाई प्रोत्साहन गर्ने सङ्कल्पपत्रमा उल्लेख गरिएको छ । सामाजिक सुरक्षा ऐन र श्रम ऐनको पूर्ण कार्यान्वयनको लागि भूमिका खेल्ने बताइएको छ ।

  • कर तथा घर बहालकरको समस्या समाधान गरिने, इटहरीमा प्रदर्शनी स्थल र औद्योगिक क्षेत्र स्थापना गर्ने, विज्ञ परामर्शदाताको व्यवस्था गरिने, जब फेयर तथा ट्रेड फेयर आयोजना गर्ने, हरेक ६ महिनामा व्यवसायीको घरैमा पुगेर समस्या सङ्कलन गर्ने पनि सङ्कल्प प्रस्तावमा समेटिएको छ । थोक र खुद्रा व्यापारी बीचमा देखिएको समस्यालाई समन्वयात्मक रूपमा हल गर्ने


वातावरणमैत्री शहर निर्माणको लागि प्लाष्टिक झोलामुक्त इटहरी बनाउने अभियानलार्ई प्राथमिकता दिइने सङ्कल्पपत्रमा उल्लेख गरिएको छ । त्यसका साथै महिला उद्यमीलाई प्रोत्साहन गर्नको लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

उम्मेद्वारी घोषणा कार्यक्रममा अध्यक्षसहित सम्पूर्ण प्यानलका उम्मेद्वारको परिचय गराइएको थियो । पौडेल समूहबाट महिला सदस्यमा गायत्री भण्डारी र शोभा कोइराला ( सविना) छन् भने एशोसिएट सदस्यतर्फ सुदीप घिमिरे रहेका छन् । वस्तुगततर्फ महेन्द्र रेग्मी र बलराम भण्डारी रहेका छन् ।

त्यस्तै उद्योगतर्फ दिवस पोखरेल, विष्णुनारायण डाँगी, लक्ष्मण हुमागाई र मुक्तिनाथ दाहालले उम्मेद्वारी दिएका छन् । वाणिज्यतर्फ विष्णुप्रसाद रिजाल, अनिल सुब्बा (काका), नवराज काफ्ले, पिताम्बर पोखरेल, जीवन पराजुली, रामकुमार श्रेष्ठ, खगेन्द्र विमली, राम हृदय राय (राजु), अशोक अग्रवाल (मोर) रहेका छन् ।

कार्यक्रमको शुरुमै बोलेका उद्योग वाणिज्य सङ्घ इटहरीका पूर्व अध्यक्ष तथा उद्योग वाणिज्य महासङ्घ समृद्धि परियोजना संयोजक टंक दुलालले विगतको नेतृत्वले गरेको योगदानको मूल्याङ्कन गर्न आगामी नेतृत्वलाई सुझाव दिएका छन् । २०५० सालबाट शुरु भएको सङ्घले धेरै हन्डर खाएर यहाँसम्म आएकाले अबको नेतृत्वले व्यवसायीको हितमा काम गर्न सक्नुपर्ने उनले बताए ।

त्यस्तै अर्का पूर्व अध्यक्ष तथा महासङ्घका केन्द्रीय सदस्य रोहित प्रसार्इंले भीम पौडेलको टिमले व्यवसायीको हितमा काम गर्ने भन्दै सबै लागेर विजयी गराउन आग्रह गरे । कार्यक्रममा भीम पौडेलले अहिलेसम्म गरेको योगदान र उनको परिचय समेटिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो ।

bhim paudel samuha  (2)