विराटनगरः धितोपत्र बजारमा कुनै पनि कम्पनीको वित्तीय विवरण अध्ययन नगरी लगानी नगर्न नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले सुझाव दिएका छन् ।
वित्तीय अवस्थाको अध्ययन गरेर लगानी गर्दा लगानीको प्रतिफल पाउन कति समय कुर्नुपर्ने हो त्यो थाहा हुने उनको भनाइ थियो । बोर्डले आज विराटनगरमा प्रदेश १ का पत्रकारका लागि आयोजना गरेको अन्तरिक्रयामा कार्कीले यस्तो बताएका हुन् ।
धितोपत्रमा लगानी गर्दा धेरै प्राविधिक पक्ष विचार नगर्दा लगानी जोखिममा पर्न सक्ने उनको भनाइ थियो । पहिलो चरणमा सञ्चारकर्मीसँग अन्तरिक्रया गरिएको उनले बताए ।
‘नेपालको अर्थतन्त्रबारे सामान्य जानकारी र धितोपत्र बजारसँगको सम्बन्ध’ विषयमा कार्कीले कार्यपत्र प्रस्तुत गरेका थिए । शेयर बजारले कुनै पनि मुलुकको समग्र आर्थिक ऐनाको चित्र प्रस्तुत गर्ने बताउँदै नेपालका आर्थिक सूचक क्रमशः सुधारोन्मुख हुँदै गएको उनले बताए ।
सहभागीले राखेका जिज्ञासाको जवाफ दिँदै बोर्डका निर्देशक निरज गिरीले बोर्डले पूँजी बजारको नियमन मात्रै गर्ने हुनाले कुन कम्पनीमा लगानी गर्ने भन्ने विषयमा लगानीकर्ता स्वतन्त्र रहेको बताए ।
प्रक्रिया पूरा गरिसकेका कम्पनीलाई कमजेर रेटिङको आधारमा आईपीओ जारी गर्न रोक लगाउन नमिल्ने बताउँदै इक्रा रेटिङ र कम्पनीको वित्तीय विवरण हेरेर लगानी गर्ने वा नगर्ने भन्ने निर्णय लिने अधिकार लगानीकर्तामा नै भएको उनले बताए ।
अर्थतन्त्रमा पूँजी बजारको महत्वपूर्ण भूमिकाः अर्थमन्त्री आङबो
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले आधुनिक अर्थतन्त्रमा पूँजी बजारको भूमिका महत्वपूर्ण हुने बताए । नेपालको वित्तीय क्षेत्र तथा पूँजी बजारबारे धेरैलाई जानकारी नभएको उनको भनाइ थियो ।
प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका सल्लाहकार प्राडा प्रमोदकुमार झाले नेपालको क्यापिटल जुन अवस्थको हुनुपर्ने हो सो नभई अस्तव्यस्त भएको बताए ।
मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बचतलाई लगानीमा रूपान्तरण गर्न सकेमा आर्थिक क्षेत्रको विकास हुने बताए ।
कार्यक्रममा ‘पूँजी बजारको परिचय तथा आधारभूत पक्ष र धितोपत्रसम्बन्धी लेखन’ शीर्षकमा बोर्डका उप कार्यकारी निर्देशक रुपेश केसीले कार्यपत्र प्रस्तुत गरेका थिए । ‘प्रदेश सभामा धितोपत्र बजार र समाचार सम्प्रेषण’ शीर्षकमा सञ्चारकर्मी लोकबहादुर चापागाईंले कार्यपत्र प्रस्तुत गरेका थिए ।