इटहरीः बढ्दो मागसँगै बजारमा आएका कतिपय खानेकुरामा मिसावट हुने तथा हानिकारक विषादी मिसिने भन्दै सचेत रहन नियमनकारी निकायले आग्रह गरेका छन् । आज इटहरीमा भएको उपभोक्ता भेला कार्यक्रममा आयोजक संस्था खाद्य प्रविधि तथा गुुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीले स्वस्थ खानेकुरामा विशेष ध्यान दिन आग्रह गरेको हो ।

कार्यालय प्रमुख विक्रम लिम्बूले बजारमा पाइने मिसावटयुक्त खाद्यपदार्थ बारे अनभिज्ञ हुँदा त्यसको प्रत्यक्ष जोखिममा उपभोक्ता रहेको तर्क गरे । हरेक स्थानीय तहमा बजार अनुुगमन समिति रहे पनि बिस्तारै प्रभावकारी बन्दै जाने र त्यसभन्दा पहिले उपभोक्ता सचेत रहे बजार स्वच्छ हुन समय नलाग्ने उनले टिप्पणी गरे । बजारमा पाइने खाद्यवस्तुको उत्पादन मिति र उपभोग्य मितिको बारेमा मात्र सचेत बने मात्र पनि बिक्रेता धेरै हदसम्म सजग रहने उनले बताए ।

कार्यक्रममा विशिष्ट अतिथि एवम् उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य मेघराज श्रेष्ठले सरकारी निकायले प्रभावकारी बजार अनुुगमनलाई निरन्तरता दिनुपर्ने टिप्पणी गरे । कतिपय कानुनी व्यवस्थाका बारे जनता जानकार नहुने भन्दै हरेक पालिकास्तरमा सचेतनामूलक कार्यक्रमलाई व्यापक बनाए मात्र जनता सतर्क हुने धारणा उनले राखे ।

नागरिक समाज इटहरीका अध्यक्ष दिनेश रसाइलीले उपभोक्ता शिक्षाको अभावमा बजारमा अन्धाधुन्ध सामान खरीद भइरहेको भन्दै बिक्रेतालाई जवाफदेही बनाउनुपर्ने समय आएको बताए । त्यस्तै उद्योग वाणिज्य सङ्घ इटहरीका महासचिव टङ्क खनालले खाद्य स्वच्छतालाई बढावा दिन कोठे कार्यक्रम भन्दा पनि अझै प्रभावकारी कार्यक्रम गरिनुपर्ने टिप्पणी गरे ।

गोरखा किचनको हलमा भएको कार्यक्रममा ६० विभिन्न संस्थामा आबद्ध ६० जना उपभोक्ताको उपस्थिति रहेको थियो । कार्यक्रमको सहआयोजना उपभोक्ता हित संरक्षण मञ्च नेपालले गरेको थियो ।