धनकुटाः प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत धनकुटाको महालक्ष्मी नगरपालिकाले पहिलो चरणमा १ सय ८ जना व्यक्तिलाई रोजगार दिएको छ ।
रोजगार कार्यक्रमको लागि नगरपालिकालाई प्राप्त भएको २६ लाख रुपैयाँबाट चालु आर्थिक वर्षमा १ सय ८ व्यक्तिलाइ रोजगार प्रदान गरिएको हो । ९ वडा रहेको नगरपालिकाले प्रत्येक वडाबाट १२ जनाको दरले अभिमुखीकरण कार्यक्रम गरी रोजगार प्रदान गरेको हो ।
नगरपालिकाले सङ्कलन गरेको बेरोजगारको सूचीमा सूचीकृत व्यक्तिलाई यो कार्यक्रममा समावेश गरिएको छ । सूचीकृत व्यक्तिको रुची तथा नगरपालिकाको आवश्यकताअनुसार अभिमुखीकरण तालीम पाएका व्यक्तिले सडक, पर्यटन, सिँचाइ, खानेपानी लगायतको क्षेत्रमा काम गर्ने महालक्ष्मी नगरपालिकाका रोजगार संयोजक गौरव कार्कीले बताए । उनीहरूले काम गरेको दिनको दैनिक ५ सय ६० रुपैयाँका दरले ज्याला प्राप्त गर्नेछन् ।
नगरपालिकाले निर्माणाधीन सडकको नाली खन्ने, सडकको स्तरोन्नति गर्ने र सडकको दुवैतर्फ फूल रोप्ने लगायतका कार्यको लागि काममा खटाउने मेयर पर्शु नेपालले जनाए ।