उर्लाबारीः मोरङको उर्लाबारीमा कृषिमा आधुनिक प्रविधिको प्रयोग बढ्दै गएको छ । परम्परागत प्रविधिबाट खेती गर्दा जनशक्तिको अभाव, समयको नोक्सान र बढी श्रम आवश्यक पर्ने भएकाले आधुनिक प्रविधिमा उर्लाबारीवासी आकर्षित बनेका हुन् ।
उर्लाबारी नगरपालिकाले यान्त्रिक औजार प्रयोग गर्नका लागि सहुलियत दिएपछि उर्लाबारीवासीलाई कृषिमा नयाँ प्रविधिको प्रयोग गर्न थप टेवा पुगेको छ । बुधबार उर्लाबारी–९ रानाटोलमा उर्लाबारी नगरपालिकाले किसानहरूलाई उपलब्ध गराएको धानको बीउ रोप्ने मेसिनको नगर प्रमुख खड्ग फागोले आफैं परीक्षण गरेका छन् ।
उर्लाबारीमा पहिलो पटक यो मेसिनबाट धान रोप्न शुरु भएको उनले जानकारी दिए । आर्थिक वर्ष २०७५÷७६ का लागि ७० लाख रुपैयाँबराबरका विभिन्न कृषिजन्य सामग्री कृषकलाई सहयोग गरेको नगरपालिकाले जनाएको छ । नगरप्रमुख फागोले परम्परागत कृषि प्रणालीलाई आधुनिक कृषिमा रूपान्तरण गर्न नगरपालिकाले किसानलाई सहयोग गर्दै आएको बताए । उर्लाबारीमा कृषि क्षेत्रको सहयोग प्रभावकारी भएको बताउँदै किसानले उब्जनीमा समेत विगतको तुलनामा प्रगति गरेको बताए ।
नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार किसानलाई प्रदान गरेकोे र आफैं कृषकसँग हातेमालो गर्दै सो समाग्रीको परीक्षण गरेको नगरप्रमुख फागोले बताए । धान रोप्ने मेसिनले १ घण्टामा १४ कठ्ठासम्म रोप्ने गरेको छ ।
किसान नरबहादुर मोक्तानले मेसिनबाट धान रोप्न सहज भएको र खेताला अभाव झेल्नुपर्ने समस्याको अन्त्य भएको बताए । यसअघि नगरपालिकाले धान रोप्ने मेसिन १ थान, मकै छोडाउने मेसिन १० थान, मकै रोप्ने मेसिन १० थान र पानी तान्ने मोटर ४० थान वितरण गरेको जनाएको छ ।
त्यस्तै, पेलेट दाना बनाउने मेसिन २ थान, मौरीको घार १ सय थान, मह जाली १० थान, एरिएटर १० थान, महमदानी ६ थान र फेरोमेन ट्याब १ हजार थान वितरण गरिएको नगरपालिकाका कृषि प्राविधिक सहायक अम्बिकाप्रसाद लुइँटेलले जानकारी दिए । उनका अनुसार थप कृषि सामग्री पनि कृषकलाई चाँडै नै वितरण गर्ने कार्यक्रम छ ।