इटहरीः बढ्दो गर्मीसँगै इटहरीमा आउँदो असार १४ गते हुन गइरहेको उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनले बजार तताएको छ ।
बजार तातेसँगै ३ वर्षअघिको निर्वाचनताका लीलम बस्नेत समूह र ईश्वरी पराजुली समूहले उद्योगी व्यवसायीबीच गरेका प्रतिबद्धताहरू पूरा गरे नगरेका विषयमा बजारका व्यवसायीहरू माझ समीक्षा शुरु भएको छ । पराजय भोगेको पराजुलीको समूह भन्दा पनि विजयी भएको बस्नेत समूह (हालको कार्यसमिति)ले वाचा गरेका कार्यहरू के कति पूरा गरे त ? भन्ने प्रश्नको खोजी बजारमा शुरु भएको छ ।
असार १४ गते हुने निर्वाचनमा उद्योग वाणिज्य सङ्घ इटहरीको हालको कार्यसमितिका वरिष्ठ उपाध्यक्ष शैलेशकुमार बिष्ट र कार्यसमिति सदस्य भीमबहादुर पौडेलले आ आफ्ना समूहका उम्मेदवारहरू घोषणा गरिसकेका छन् । पौडेल समूहले त आफ्नो समूहको तर्फबाट सङ्कल्पपत्र नै सार्वजनिक गरिसकेको छ । यतिबेला पौडेल समूहका उम्मेद्वारहरू मतदाताहरूको घरदैलोमा आफ्नो समूहतर्फको सङ्कल्पपत्र बोकेर पुगिरहेका छन् ।
कार्यवाहक अध्यक्षको समेत जिम्मेवारी पाएको बिष्ट समूहले शुक्रबार (आज) साँझ ५ बजे आफ्नो चुनावी घोषणापत्रसँगै औपचारिक रूपमा आफ्नो समूहका उम्मेदवारहरूको घोषणा गर्दैछ ।
सो कार्यक्रम तयारीसँगै बिष्ट समूहले पनि अघिल्लो निर्वाचन अघि आफूहरूले जारी गरेको घोषणापत्रमा उल्लेख भएका के के प्रतिबद्धता पूरा गरिए के चाहिँ पूरा गर्न सकिएन भन्ने कुरा राख्दै बजारमा घरदैलो गरिरहेका छन् । घोषणापत्रमा उल्लेख भएका सबै बँुदाहरू पूरा गर्ने वातावरण भए पनि ३ वर्षे कार्यकालमा पूरा नगरिए पनि पूरा गर्नका लागि फेरि मतदान गर्न अनुरोध गर्दै व्यपारीहरू माझ पुगिरहेका छन् ।
दुवै समूहले अध्यक्षसहित महिलातर्फ २÷२ जना, वाणिज्यतर्फ ९÷९ जना, उद्योग तर्फ ४÷४ जना र एशोशिएट तर्फ १÷१ जनाको उम्मेदवारी दिएका छन् । एशोशिएटमा भने दुवै समूहका तर्फबाट सुदीप घिमिरेको नाम अघि सारिएको छ ।
निर्वाचन नजिकिँदै जाँदा पौडेल समूह र बिष्ट समूहबाट वस्तुगत तर्फबाट उम्मेदवारी दिएका ४ जना उम्मेदवारहरूको खोजी गरी यो सामग्री तयार पारिएको छ ।
पौडेल समूहले वस्तुगत तर्फबाट इटहरीका पुराना युवा व्यवसायी महेन्द्र रेग्मी र बलराम भण्डारीलाई चुनावी मैदानमा उतारेको छ । दुवै जनाको व्यवसायिक इतिहास कम छैन । हेभीवेट उम्मेदवारका रूपमा चिनिएका रेग्मी र भण्डारीले असार १४ को निर्वाचनमा बाजी मार्ने अड्कलबाजी बजारमा शुरु समेत भएको छ ।
०५६ सालबाट टायर रिसोलिङ र रबरको कारोबार थालेका महेन्द्र रेग्मीले ०६४ बाट अटो व्यवसाय शुरु गरेका छन् । हाल हुण्डा ब्राण्डका मोटरसाइकलको व्यापार गरिरहेका उनी नेपाल स्पोर्टस अटोमोबाइल एसोसिएसन (नासा) प्रदेश नम्बर १ का सह सचिवको जिम्मेवारीमा रहेका छन् । उनलाई इटहरीका हरेक व्यवसायीहरूले नजिकबाट बुझेका छन् ।
अटो डिलर एसोसिएसन इटहरीका सदस्य सचिव समेत रहेका उनी सामाजिक सङ्घ संस्थामा समेत आबद्ध भई व्यवसायको अलवा समाजिक सेवामा पनि उत्तिकै सक्रिय हुँदै आएका छन् । रोटरी क्लबका सदस्य, रेडक्रसको आजीवन सदस्य रहेका उनी मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारीका सदस्य समेत हुन् ।
इटहरीमा छरिएर रहेका वस्तुगत व्यवसायीहरूलाई एक स्थानमा ल्याएर उनीहरूको समस्यालाई स्थानीय, प्रदेश र केन्द्रीय तहको सरकारसामु लबिङ गर्नका लागि आफूले वस्तुगततर्फबाट सदस्य पदमा उम्मेद्वारी दिएको रेग्मीले बताए ।
उनका अनुसार इटहरीमा मात्रै अटो क्षेत्रमा वार्षिक करीब ४ अर्ब बराबरको आर्थिक कारोबार भए पनि यो क्षेत्रमा आबद्ध व्यवसायीहरू ठूलो समस्या रहेको र आफू पनि सोही व्यवसायमा आवद्ध भएकाले समग्र वस्तुगत सङ्घमा आबद्ध व्यवसायीहरूको समस्याको हलका लागि आफू चुनावी मैदानमा उत्रिएको उनले बताए । निर्वाचन जितेर गएपछि आफू भने चुप लागेर नबस्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
पौडेल समूहबाटै वस्तुगत तर्फबाट उम्मेदवारी दिएका अर्का व्यवसायीको नाम हो, बलराम भण्डारी । आईटी क्षेत्रका सामान खरीद बिक्रीमा सक्रिय भण्डारी क्यान सुनसरीका अध्यक्ष समेत हुन् । इटहरीमा ०५२ सालदेखि किराना पसलबाट आफ्नो व्यवसाय शुरु गरेका उनले किरानापछि इटहरीमै इलेक्ट्रिक पसल गरे । ०६५ सालबाट निरन्तर उनले आईटीसँग सम्बन्धित समानहरू प्रदेश नम्बर १ भरी नै बिक्री गरिरहेका छन् ।
युवा व्यवसायीका रूपमा परिचित भण्डारी वजनदार उम्मेदवारमा पर्दछन् ।
वाणिज्य सङ्घमा पहिलो पटक उम्मेद्वार भए पनि सङ्गठनमा रहेर कसरी काम गर्नुपर्छ भन्ने राम्रो दख्खल भएका उनी रोटरी क्लब, इटहरी जेसीज, मेघा बचत तथा ऋण सहकारी लिमिटेडलगायत सामाजिक तथा वित्तीय संस्थामा काम गरेका व्यक्ति हुन् । इटहरी क्षेत्रमा रहेका वस्तुगत तर्फका व्यवसायीहरूको पीरमर्का नजिकबाट बुझेका उनले निर्वाचनमा बाजी मार्ने सम्भावना बलियो देखिएको छ ।
मतदाताहरूलाई विजयी गराउन आग्रह गरेका उनले वाणिज्य सङ्घको नेतृत्वमा पुगेपछि बस्तुगत संघहरूलाई एकै स्थानमा ल्याएर उनीहरूबाट पहिचान भएका समस्या र हुन नसकेका समस्याहरूको पहिचान गरी समाधानतर्फ पहलकदमी थाल्ने बताए । काठमाडौंमा आईटी क्षेत्रबाट एक जनालाई स्वतः मनोनित गर्ने विधान भए पनि इटहरीमा नभएकाले विधान संशोधनका लागि पनि सकेको पहल गर्ने उनले बताए ।
शैलेशकुमार बिष्ट समूहबाट वस्तुगत तर्फबाट उम्मेदवार बनेका छन् इटहरीका पुराना होटल व्यवसायी उमानाथ दाहाल (उमेश) । ३ वर्षअघि लीलम बस्नेत समूहबाट उनी वाणिज्यतर्फबाट सदस्य पदमा उम्मेदवार भएका थिए । विजयी भएपछि उनले उद्योग वाणिज्य सङ्घ इटहरीको वाणिज्य तर्फको सचिवको जिम्मेवारी पनि सम्हालिरहेका छन् ।
होटल व्यवसायी सङ्घ इटहरीका महासचिव समेत रहेका उनी लायन्स क्लब अफ ग्रीन सिटी इटहरीमा समेत आबद्ध छन्् । ०५७ सालदेखि निरन्तर होटल व्यवसायमा आबद्ध उनी पहिले वाणिज्यतर्फबाट उम्मेदवार भई विजयी भए पनि इटहरी क्षेत्रका वस्तुगत क्षेत्रमा धेरै समस्याहरू पाएको र वस्तुगत सङ्घमा आवद्ध इटहरीका अधिकांश व्यवसायीहरू आफू नजिक भएकाले यसपटक वाणिज्यतर्फ नगई वस्तुगततर्फबाट उम्मेद्वारी दिएको बताउँछन् ।
उनले भने, ‘होटल व्यवसायी सङ्घ इटहरीले लगाएको पर्यटन महोत्सवमा धेरै वस्तुगत सङ्घका व्यावसायिक मित्रहरूसँग नजिक भएर काम गर्ने अवसर पाएँ । त्यो बेला उहाँहरूको समस्या नजिकबाट पहिचान गरेँ । त्यही भएर उहाँहरूको समस्या हलका निम्ति यस पटक वस्तुगत तर्फबाट सदस्य पदमा मेरो उम्मेदवारी हो ।’
उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनमा अहिलेसम्म हार खानुनपरेकाले यसपटक पनि मतदाताहरूले आफूलाई विजयी गराउनुहुनेछ भन्नेमा आफू आशावादी भएको उनको भनाइ छ ।
१३ वर्षअघिबाट इटहरीमा अटो पार्टस्को व्यवसाय गरिरहेका सुरेश कार्की पनि बिष्ट समूहबाट वस्तुगत तर्फका अर्का सदस्य पदका उम्मेद्वार हुन् । उद्योग वाणिज्य सङ्घ इटहरीको वर्तमान कार्यसमितिमा मनोनिततर्फका सदस्य रहेका कार्कीले इटहरी आउनुअघि इलामको पशुपतिनगर उद्योग वाणिज्य सङ्घको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पूरा गरिसकेका हुन् ।
इटहरी अटो व्यवसायी सङ्घ र सुनसरी ब्याडमिन्टन एकेडेमीको संस्थापक अध्यक्ष समेत रहेका कार्कीलाई व्यवसाय क्षेत्रको समस्या राम्रोसँग थाहा छ । व्यवसायमा आवद्ध भएकाहरूलाई नजिकबाट नियालिरहेका उनीसँग सामाजिक कार्य गरेको अनुभवसमेत छ ।
रोटरी क्लब अफ इटहरीका निर्वतमान सचिवको जिम्मेवारीमा रहेर समाजिक कार्य गरेका उनले वर्तमान कार्यसमितिमा रहेर इटहरी बजार अनुगमन र व्यवस्थापनको पाटोमा आफ्नो क्षमताले भ्याएसम्मका कार्यहरू गरेका छन् । वाणिज्य सङ्घ इटहरीले दिएको जिम्मेवारी आफूले इमान्दारितापूर्वक पूरा गरेको उनले सुनाए ।
इटहरी उपमहानगरपालिका, घरेलु कार्यालय, उपभोक्ता मञ्च लगायत सङ्घ संस्थाहरूसँग सहकार्य गरी इटहरीमा भएका धेरै बजार अनुगमनमा आफू सक्रियतापूर्वक सहभागी भएको उनले बताए । वस्तुगत व्यवसायमा आबद्ध भएकाहरू बीच भाइचारा कायम गरी एकै स्थानमा ल्याउनका लागि आफूले उम्मेदवारी दिएको उनको भनाइ छ ।
उनले इटहरीमा केही व्यवसायीले बिहीबार त केहीले शनिबार व्यवसाय बन्द गर्दै आएकाले यसमा पनि एकरूपता ल्याउनका लागि आफूले सक्दो प्रयास गर्ने बताए । असार १२ गते हुने साधारणसभामा वर्तमान कार्यसमितिले एक दिनमात्रै बजार बन्द गराउने एजेण्डा लिएर जाने उनले बताए ।