इटहरीः प्रदेश १ सरकारले ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारको बजेटमा आगामी आर्थिक वर्षको लागि इटहरीकेन्द्रित विभिन्न चार वटा कार्यक्रम समेटिएका छन् ।
इटहरीको तरहरामा १५ करोड ५० लाख रुपैयाँमा पाउडर प्लान्ट स्थापना गर्ने विषय बजेटमा समेटिएको छ । प्रदेश सरकार, सहकारी तथा निजी डेरीको साझेदारीमा यस्तो प्लान्ट स्थापना गरिने बजेटमा उल्लेख गरिएको छ । मिल्क होलिडे अन्त्य गर्न पाउडर प्लान्ट स्थापना गरिने बजेट वक्तव्यमा मन्त्री आङ्बोले बताए ।
इटहरीको तालतलैया क्षेत्रको पर्यटकीय विकासको लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । पर्यटनतर्फ १ अर्ब ६६ करोडको बजेट विनियोजन गर्दै मन्त्री आङ्बोले भने, ‘इटहरीस्थित तालतलैया क्षेत्रलाई प्रदेशकै एक प्रमुख आकर्षक पर्यटकीय गन्तव्यको रूपमा प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र र समुदायको साझेदारीमा अगाडि बढाउन आवश्यक बजेट व्यवस्था गरेको छु ।’

arena tv add

इटहरीकोे खेलकुद क्षेत्रमा पनि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । इटहरीको प्रादेशिक रंगशालाको निर्माणको लागि १ करोड बजेट विनियोजन भएको छ ।
यस्तै, इटहरीमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको लागि समेत बजेट छुट्याइएको छ । बजेट वक्तव्यमा मन्त्री आङ्बोले भने, ‘इटहरीमा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र स्थापनाको विस्तृत सम्भाव्यता अध्ययन गरी कार्य प्रारम्भ गर्न बजेट व्यवस्था गरेको छु ।’