इटहरीः कागज अनि भाषणमा मात्र इटहरी क्षेत्रका उद्योगी व्यवसायीको समस्या हल गर्न नभई काम गरेरै उनीहरूको समस्यालाई सम्बोधन गर्न आफूहरू लागि पर्ने ४ जना उम्मेद्वारले जनाएका छन् ।
यही असार १४ गते हुने उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनमा उम्मेद्वारी दिएका ती व्यवसायीले आफ्नो उद्देश्य पूरा गर्न भीमबहादुर पौडेल नेतृत्वको टिमबाट उम्मेद्वारी दिएको बताए ।
सङ्घको वर्तमान कार्यसमितिले ३ वर्षअघि मतदाता बीचमा घोषणा गरेका अधिकांश प्रतिबद्धता चुनावी घोषणापत्र र भाषणमा मात्र सीमित रहेको दाबी गर्दै काम गर्नकै लागि उम्मेद्वारी दिएको उद्योग वाणिज्य सङ्घ इटहरीका पूर्व महासचिव समेत रहेका दिवस पोख्रेलले बताए ।
वर्तमान कार्यसमितिमा सदस्य समेत रहेका उनले भने यो कार्यसमितिभित्र रहेर पनि काम गर्ने इच्छा थियो । तर फरक समूहबाट निर्वाचित भनेर महत्वपूर्ण जिम्मेवारी दिइएन । जसका कारण सोचेअनुसार काम गर्न पाइएन ।
०६७ सालदेखि निरन्तर उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनमा विजयी हँुदै आएका पोख्रेलले ३ वर्षअघिको निर्वाचनमा विजयी समूहले बीमाको कुरा ल्याएको तर हालसम्म कुनै उद्योगी व्यवसायीहरूको बीमा नगरेको दाबी गरे । अहिले फेरि १० लाखको बीमाको कुरा ल्याएर मतदातामा भ्रम छर्ने काम गरेको उनले बताए ।
उनले भने, ‘हामीले बीमा कम्पनीसँग कुरा गरी काम पनि थालिसकेका छौँ । बजारमा उद्योगीव्यवसायीहरूमाझमा पुगेर बीमा कम्पनीका कर्मचारीहरूले आवश्यक कार्य पनि थालेका छन् । हामी काममा विश्वास गर्छाैं । कागजी कुरा र भाषणमा होइन ।’
गफमात्र नभई व्यावसायिक हितमा कामै गर्नका लागि चौथो कार्यकालका लागि आफूले उद्योगतर्फबाट सदस्य पदमा उम्मेद्वारी दिएको पोख्रेलले बताए । आफू धेरै नबोल्ने तर काम गर्ने बताउँदै उनले शैलेश बिष्ट समूहले ३ वर्षअघि चुनावी घोषणापत्रमा उल्लेख गरेका १५ बुँदे प्रतिबद्धताले फेल खाएको सबैलाई छर्लङ्ग भएको उनले बताए ।
उनले भवन बनाउने, सोलार जोड्नेभन्दा पनि व्यावसायिक समस्या हल गर्नेतर्फ लाग्नुपर्ने इटहरी क्षेत्रको आवश्यकता रहेको बताए । उनले आउने पाँचौँ कार्यकालका लागि आफ्नो अध्यक्ष पदका लागि सहज वातावरण बनाउनका लागि पनि चौथो कार्यकालका लागि उम्मेद्वारी दिएको बताए ।
पौडेल समूहबाट उद्योग तर्फबाट उम्मेद्वारी दिएका विष्णु नारायण डाँगीले इटहरी क्षेत्रका उद्योगी व्यवसायीहरूका धेरै खालका समस्याहरू रहेको ती समस्याहरू अहिलेसम्म सम्बोधन नै नभएको बताए । इटहरी क्षेत्रका व्यवसायीहरूको समस्या हल गरी व्यावसायिक श्रीवृद्धिका लागि मन भित्रबाटै काम गर्नकै लागि इच्छा देखाएर भीमबहादुर पौडेल चुनावी मैदानमा आएको उनको भनाइ छ ।
पौडेलको व्यवसायीको हितका लागि काम गर्ने चाहना पूरा गर्नका लागि आफूले उम्मेद्वारी दिएको उनले बताए । पौडेल समूहमा रहेर आफूले पनि इटहरी क्षेत्रमा रहेका उद्योगीहरूको समस्या हल गर्न सक्ने भएकाले उनको समूहबाट उद्योगतर्फ सदस्य पदमा उम्मेद्वारी दिएको उनले बताए ।
कागज र भाषणमा मात्र व्यावसायिक हितका लागि कुरा गर्ने तर काम शून्य गर्ने भन्दा पनि साँच्चै काम गर्ने समूहका उम्मेद्वारलाई मतदान गर्न उनले आग्रहसमेत गरेका छन् । अध्यक्ष पदमा उम्मेद्वार पौडेल मात्र नभई समूह नै तीव्र काम गर्ने इच्छाशक्तिका साथ चुनावी मैदानमा उत्रिएको उनले दाबी गरे ।
उद्योगीहरूका धेरै समस्याहरू जस्ताको तस्तै रहेकाले ती समस्याको हल गर्नका लागि आफू पुलका रूपमा काम गर्न तयार रहेको बताउँछन् लक्ष्मण हुमागाईं । सोही कारण दोस्रो कार्यकालका लागि आफूले पुनः उद्योग तर्फबाट सदस्य पदमा पौडेल समूहबाट उम्मेद्वारी दिएको उनले बताए । हालको कार्यसमिति सदस्यमा तीन वर्षसम्म रहँदा उद्योगीका समस्याका विषयमा पटकपटक कुरा राख्दा खासै सुनुवाइ नभएको उनले बताए ।
उनले भने, ‘सोचेअनुसार काम गर्नका लागि एउटै प्यानल नै चाहिने रहेछ । एउटै प्यानल नहुँदा निर्वाचित भएर गए पनि काम गर्न धेरै समस्याहरू आउँदा रहेछन् । त्यसकारण यस पटकको निर्वाचनमा व्यावसायिक हकहितका लागि कामै गर्ने भीमबहादुर पौडेलको समूहलाई नै विजयी गराउन म आग्रह गर्दछु ।’
इटहरी क्षेत्रका उद्योगी व्यवसायीहरूका समस्या नजिकबाट बुझेका पौडेलको समूहबाट उद्योग तर्फ सदस्य पदमा उम्मेद्वारी दिएका अर्का उद्योगी हुन् मुक्तिनाथ दाहाल । पहिलो पटक उद्योग वाणिज्य सङ्घको निर्वाचनमा सहभागी भएका दाहाल भन्छन्, ‘इटहरी क्षेत्रका उद्योगीमा कर र राजस्वसम्बन्धी समस्या धेरै छन् । कसरी लेखा राख्ने भन्ने ज्ञान धेरैलाई छैन । ग्रील तथा आल्मुनियम उद्योगीहरूलाई ढुवानीका धेरै समस्या छन् । यी समस्या हल गर्नका लागि मेरो उम्मेद्वारी हो ।’
उनले स्थानीय प्रहरी प्रशासनसँग सहकार्य गरी ग्रील र आल्मुनियम व्यवसायीहरूलाई ढुवानीका लागि टाइम कार्डको व्यवस्था गर्नका लागि पनि आफू चुनावी मैदानमा उत्रिएको उनले बताए ।