भोजपुरः भोजपुरको हतुवागढी गाउँपालिकामा एक इन्जिनियर र एक सब इन्जिनियरलाई अख्तियारको टोलीले घुसबापतको रकमसहित रङ्गेहात पक्राउ गरेको छ ।
आज दिउँसो स्थानीय एक सडक मर्मत योजनामा सेवाग्राहीबाट लिएको घुस रकमसहित इन्जिनियर मिछुहाङ किरात र सब इन्जिनियर नइन्द्र पारुहाङलाई कार्यकक्षबाट पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको विशेष अनुसन्धान टोलीले इन्जिनियर किरातलाई ५० हजार र सब इन्जिनियर पारुहाङलाई २० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रप्रसाद ढकालले जानकारी दिए ।
ढकालका अनुसार सडक मर्मतको बिल भुक्तानीको क्रममा सेवाग्राहीबाट घुस लिएको भन्ने गुनासोको आधारमा अख्तियारले गाउँपालिकामा छापा मारेको हो । उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानको लागि इटहरीतर्फ लगिएको छ ।
हतुवागढी गाउँपालिकाको ७ नं. वार्ड पात्लेपानीको पिप्लेदेखि ९ नं. वार्ड हसनपुर जोड्ने पिप्ले–मचुवा सडकको बिल भुक्तानीको क्रममा सो रकम कमिसन लिइएको थियो । आयोजनाको भुक्तानीको क्रममा आर्थिक वर्ष सकिन लाग्दा योजनाको कार्यान्वयन र भुक्तानीको चाप बढेको बेला सार्वजनिक भएको यो घटनाले गाउँपालिकाका दर्जनौं अन्य योजनासमेत प्रभावित भएका छन् ।