इटहरीः इटहरीमा नमूना घरेलु औद्योगिक ग्राम स्थापनाका लागि आफूहरूले शैलेशकुमार बिष्ट समूहबाट उद्योगतर्फ सदस्य पदमा उम्मेद्वारी दिएको चार उम्मेद्वारले बताएका छन् । त्यसका लागि राज्यका तीनै तहका सरकारसँग आवश्यक पहल गर्ने उनीहरूले बताए ।
असार १४ गते हुने इटहरी उद्योग वाणिज्य सङ्घको निर्वाचनमा उद्योगतर्फबाट सदस्य पदमा उम्मेद्वारी दिएका वर्तमान कार्यसमितिका उद्योग सचिव राजेन्द्रकेशरी घिमिरेले इटहरीलाई घरेलु तथा साना उद्योगको शहर निर्माणका लागि घरेलु औद्योगिक ग्राम स्थापना गर्न आवश्यक पहल थालिसकिएको बताए । त्यसका लागि इटहरी उपमहानगरपालिकासँग आवश्यक समन्वय गरी घरेलु औद्योगिक ग्राम स्थापना गर्न डीपीआरको काम अघि बढिसकेको दाबी उनले गरे ।
उनले भने, ‘हाम्रो तीन वर्षे कार्यकालमा कतिपय कामहरू विविध कारणले पूरा गर्न सकेनाँै । अब ती पूरा गर्न नसकिएका कार्य पूरा गर्नका लागि असार १४ गते हुने निर्वाचनमा पुनः मेरो उम्मेद्वारी हो ।’
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सुनसरीका अध्यक्षसमेत रहेका घिमिरेले आफू इटहरी क्षेत्रका घरेलु तथा साना उद्योगीहरूको पहुँचलाई राज्यको केन्द्रीय तहसम्म पु¥याउन निरन्तर लागि परिरहेको बताए । इटहरीमा रहेका महिला उद्यमीहरूलाई आत्मनिर्भर बनाई इटहरीका बेरोजगारलाई रोजगार बनाउनका लागि आवश्यक कार्य गर्नकै लागि पनि आफूले उम्मेद्वारी दिएको उनको भनाइ छ ।
राष्ट्रिय नुडल्स व्यवसायी सङ्घका केन्द्रीय अध्यक्षसमेत रहेका घिमिरे पत्रकारिता क्षेत्र हुँदै उद्योगतर्फ क्रियाशील भएका व्यक्ति हुन् । साना तथा मझौला उद्योगहरूमा धेरै समस्याहरू रहेका र ती सबै समस्या हल गर्नका लागि ३ बर्षे कार्यकाल अपर्याप्त हुने आफूले महशुस गरेको उनले बताए । आउँदो ३ वर्षे कार्यकालमा धेरै समस्याहरू हल हुने दाबी पनि उनले गरे ।
व्यवसायसँगै इटहरीको हरेक समाजिक कार्यमा संलग्न भइरहेका घिमिरे शालीन र सरल व्यवसायीका नेताका रूपमा पनि चिनिन्छन् । लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीको अध्यक्ष समेत रही उनी सामाजिक कार्यमा सक्रिय छन् । उनले आफूलगायत आफ्नो समूहले ३ वर्षे कार्यकालमा गरेका कार्यहरूको सही मूल्याङ्कन गरी मतदाताहरूले मतदान गरी विजयी गराउनेमा आफू विश्वस्त रहेको बताए ।
इटहरीका पुराना उद्य्मी व्यवसायीका रूपमा परिचित वेदनाथ भेट्वाल (राजन)ले पनि यस पटक शैलेशकुमार बिष्टको नेतृत्वको समूहबाट उद्योगतर्फबाट सदस्य पदका लागि उम्मेद्वारी दिएका छन् । ‘घरेलु तथा साना उद्योगीहरूको अभियन्ता भएर इटहरी क्षेत्रमा क्रियाशील भएको १३ वर्ष लागेछ’ उनले भने, ‘अभियान्ताका रूपमा क्रियाशील रहँदा घरेलु तथा साना उद्योगीहरूको वास्तविक समस्या नजिकबाट पहिचान गर्न पाएको छु । के के कुरालाई सम्बोधन ग¥यो भने उद्योगीहरूको हित हुन्छ भन्ने कुरा पनि जानकारी छ । त्यही भएर मैले उद्योग तर्फबाट सदस्य पदको लागि उम्मेद्वारी दिएको हुँ ।’
उनले अबको तीन वर्षे कार्यकालमा इटहरी क्षेत्रलाई देशकै नमूना औद्योगिक ग्राम बनाएरै छाड्ने अठोटका साथ आफू उद्योग वाणिज्य सङ्घ इटहरीको चुनावी मैदानमा उत्रिएको बताए । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सुनसरीका कोषाध्यक्ष समेत रहेका भेट्वाल नेपाल नुडल्स व्यवसायी सङ्घका केन्द्रीय सल्लाहकारसमेत हुन् । लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीको सचिव समेत रहेका उनी व्यवसायसँगै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । इटहरी १६ मा रहेको सेभेन स्टार क्लबका अध्यक्ष रहेका उनी मिजासिला व्यक्तिका रूपमा परिचित छन् ।
लामो सङ्घर्षपछि युवा व्यवसायीका रुपमा केन्द्रीय तहसम्म आफ्नो परिचय बनाउन सफल बिष्ट समूहबाटै उद्योगतर्फका युवा उम्मेद्वार हुन् सुरज आङदेम्बे (बज्र) । इटहरीमा ०५६ सालदेखि ग्रील तथा स्टील व्यवसाय गर्दै आएका उनी इटहरीमा छुट्टै व्यक्तित्व बनाएका युवा उद्यमी हुन् । उद्योगीहरूका थुप्रै समस्याहरू रहेको बताउने उनी व्यवसायीहरूको हकहितका लागि आफूले पहिलो पटक उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनमा सदस्य पदका लागि उम्मेद्वारी दिएको बताउँछन् ।
‘इटहरी क्षेत्रका साना तथा मझौला उद्योगहरूमा दक्ष जनशक्तिको ठूलो खडेरी छ । मलगायत मेरो समूहले विजयी भएको खण्डमा दक्ष जनशक्ति उत्पादनका लागि आवश्यक कार्य गर्नेछ,’ उनले भने, ‘त्यसका लागि पनि मेरो उम्मेद्वारी हो । धेरै उद्योगहरूलाई व्यवस्थित गर्नसमेत जरुरी छ । इटहरीलाई यो देशले मात्रै होइन, विदेशीहरूले समेत चर्चा गर्नयोग्य औद्योगिक ग्राम बनाउनका लागि आफूले सक्ने योदान दिन पनि मेरो उम्मेद्वारी हो ।’
ग्रील तथा स्टील व्यवसायी सङ्घ सुनसरी जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्यसमेत रहेका उनी गोरखा मेटल इटहरीका सञ्चालक पनि हुन् । आँखामा हाल्दा पनि नबिझाउने युवा उद्यमीको परिचय इटहरीभर बनाउन सफल उनी व्यवसायसँगै सामाजिक कार्यमा पनि उत्तिकै क्रियाशील हुँदै आइरहेका छन् ।
इटहरीका पुराना स्थापित व्यवसायी उद्योगीका रूपमा परिचित व्यक्ति हुन्, किसन खेडिया । मारवाडी समुदायका उनी पुराना व्यवसायीका रूपमा इटहरीमा स्थापित छन् । मारवाडी सेवा समिति इटहरीका अध्यक्ष तथा केन्द्रीय सदस्य समेत भएका उनी विभिन्न सामाजिक सङ्घ संस्थामा आबद्ध भई सामाजिक कार्यमा पनि लागि परिरहेका छन् ।
‘इटहरी क्षेत्रका धेरै उद्योगी व्यवसायीहरूले अन्योलका भरमा उद्योग व्यवसाय सञ्चालन गर्नु परिरहेको छ । त्यसरी चलाउन बाध्यता पनि भएको छ,’ उनी भन्छन्, ‘उद्योगी व्यवसायीलाई नोक्सान नहुने गरी उद्योग व्यवसाय सञ्ंचालन गर्ने ज्ञान र सीप दिलाउनका लागि मैले बिष्ट समूहबाट सदस्य पदका लागि उम्मेद्वारी दिएको हो ।’ उनले पनि इटहरीमा नमूना औद्योगिक ग्राम स्थापनमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताए ।