उर्लाबारीः राष्ट्रिय सहकारी बैंकले मोरङको उर्लाबारीमा सहकारी बैंक र सदस्य सहकारी सङ्घसंस्थाबीच अन्तरक्रिया कार्यक्रम गरेको छ ।
राष्ट्रिय सहकारी बैंक उर्लाबारीको आयोजनामा बिहीबार भएको अन्तरक्रिया कार्यक्रममा केन्द्रीय निवर्तमान अध्यक्ष रमेशप्रसाद पोखरेलले सहकारी अभियानलाई थप प्रभावकारी बनाउन बैंकको महत्वपूर्ण सहयोग रहने जानकारी गराए । उनले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि सहकारी बैंकसँग सहकार्य गर्न सबै सहकारी सङ्घ संस्थालाई आग्रह गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले राष्ट्रिय सहकारी बैंकका बारेमा जानकारी गराएका थिए ।
अन्तरक्रिया कार्यक्रममा १ सय भन्दा बढी सहकारी सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा सहकारी बैंक र सदस्य सङ्घ संस्थाबीच सहकार्य, सहकारी अभियानलाई प्रभावकारी बनाउनेलगायतका विषयमा छलफल गरिएको उर्लाबारी शाखाकी प्रमुख मुना केसीले जानकारी दिइन् । सोही अवसरमा उर्लाबारीको महिला उत्थान साकोस र श्रीसगरमाथा साकोसलाई उत्कृष्ट सहकारीको रूपमा सम्मान गरिएको थियो ।