इटहरीः इटहरीजस्ता शहरमा खेतीयोग्य जमिन बाँझिदै गए पनि त्यसको विकल्पमा घरको छतलाई प्रयोग गर्न सकिने बताउँछन् व्यवसायी भीम पौडेल । हाल उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्षका उम्मेद्वार रहेका उनी कौसीखेतीले शहरलार्ई आत्मनिर्भर बनाउने तर्क गर्छन् । ‘हरेक घरको छत बाँझै छ,’ उनी भन्छन्, ‘खेतबारी नहुनेले छतमा तरकारी रोपेर भए पनि खर्च घटाउन सक्छन् ।’
उद्योग वाणिज्य सङ्घमा लोकतान्त्रिक धारबाट अध्यक्षको उम्मेद्वार रहेका पौडेल इटहरीमा अझै पनि बेरोजगारी मुख्य समस्या रहेको बताउँछन् । जसको रचनात्मक समाधान मुख्य एजेण्डा हुनुपर्ने उनको बुझाइ छ ।
निर्वाचनको दौडमा रहेका पौडेल अहिले प्रत्येक सटरमा पुगेर भोट मागिरहेका छन् । चुनावी दौडको क्रममा आफूले धेरै ठाउँमा लुँडो खेलेको देखेको र त्यसले शहरलाई नै गलत मार्ग निर्देश गरेको उनले टिप्पणी गरे । लुँडो, तासजस्ता अनु्त्पादक काममा समय व्यतीत गरेर शहरको विकास नहुने उनको तर्क छ ।
शहरका आधिकांश युवा विदेशिने र नेपालमा भएका पनि यस्तै अनुत्पादक क्षेत्रमा लागेकाले शहर एउटा हाटबजार जस्तो मात्र भएको उनको भनाइ छ । ‘शहरमा अधिकांश युवा बेरोजगार छन् अनि तिनै युवाको घरको छत बाँझो छ यो राम्रो कुरा होइन,’ उनले भने, ‘यदि लुँडो र तास खेल्ने युवाले छतमा तरकारी खेती गर्ने हो भने शहर आफैँ हरियो हुन्छ र शहरजस्तो देखिन्छ । कम्तीमा तरकारीमा आत्मनिर्भर हुन्छ ।’