बेलबारीः बेलबारी नगरपालिकाले आर्थिक वर्ष ०७६÷०७७ का लागि १ अर्ब ९१ लाख ९० हजार बराबरको बजेट विनियोजन गरेको छ । चौथो नगरसभामा नगरपालिकाले पूँजीगततर्फ ४२ करोड ५० लाख ५८ हजार विनयोजन गरेको छ । जुन कुल बजेटको ४२ दशमलव १२ प्रतिशत हो ।

चालु खर्चतर्फ ५८ करोड ४१ लाख ३२ हजार अर्थात् ५७ दशमलव ८८ प्रतिशत बजेट उपमेयर ढाकाकुमारी पराजुलीले नगरसभामा पेश गरिन् । प्रशासनिक कार्यमा वडास्तरीय कार्यालय सञ्चालनको लागि ६० लाख ५० हजार र नगरपालिकातर्फ १२ करोड १८ लाख ५९ हजार गरी १२ करोड ७९ लाख ९ हजार विनियोजन गरिएको छ । जुन कुल बजेटको १२ दशमलव ६६ प्रतिशत हो ।

आर्थिक विकास समितितर्फ ४ करोड १२ लाख ६० हजार बराबरको रकम विनियोजन गरेको छ । जुन कुल बजेटको ४ दशमलव ०८ प्रतिशत हुन आउँछ । सामाजिक विकास समितितर्फ २४ करोड ८४ लाख ६ हजार बराबरको रकम विनियोजन नगरपालिकाले गरेको छ । जुन कुल बजेटको २४ दशमलव ६१ प्रतिशत हुन आउने देखिन्छ ।

सार्वजनिक सेवा तथा क्षमता विकास समितितर्फ १ करोड १६ लाख ३३ हजार बराबरको रकम विनियोजन प्रस्ताव गरिएको छ । जुन कुल बजेटको १ दशमलव १५ प्रतिशत हुन आउँछ । वातावरण तथा विपद् व्यवस्थापन विकास समितितर्फ नगरस्तरीय वातावरणीय तथा विपद् व्यवस्थापन कार्यक्रममा ६० लाख र वडास्तरीय कार्यक्रममा १० लाख ५१ हजार गरी जम्मा ७० लाख ५१ हजार बजेट विनियोजन गरिएको छ ।

भौतिक पूर्वाधार विकास समितितर्फ २८ करोड ९६ लाख ४७ हजार बराबरको रकम विनियोजन प्रस्ताव गरिएको छ । जुन कुल बजेटको २८ दशमलव ७० प्रतिशत हुन आउँछ । लागत सहभागितामा ३ करोड बराबरको बजेट तथा कार्यक्रम समावेश गरिएको छ ।

यस्तै, दमकल र शव वाहन खरीद गर्ने जनाइएको छ । नगरपालिकाले शव वाहनका लागि ३० लाख र दमकलका लागि ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गर्भवती महिलाको निःशुल्क गर्भपरीक्षण साथै असहाय र बेवारिशेको मृत्यु हुँदा उनीहरूको दाहसंस्कार नगगरपालिकाले गर्ने भएको छ ।

बोयर जातको बाख्रा पालनका लागि नगरपालिकाले विशेष प्राथमिकता दिएको छ । जसका लागि १ करोड २५ लाख रुपैयाँ नगरपालिकाले विनियोजन गरेको छ । बेलबारी–८ रइझारमा रहेको कयरखोलामा पक्की पुल निर्माण गर्नका लागि नगरपालिकाले डीपीआर बनाई काम थाल्ने जनाएकोे छ ।

बेलबारी–१ मा २२ करोडको लागतमा व्यापारिक कम्प्लेक्स निर्माण गरिने र गरीबसँग नगरपालिका कार्यक्रमलाई निरन्तरता दिने जनाइएको छ । स्वास्थ्य चौकी नभएका वडामा आगामी वर्ष स्थापना गरिने उल्लेख छ । विज्ञहरूसँग अन्तरक्रिया गरेर होमस्टे सञ्चालनका लागि प्रक्रिया अघि बढाइने उल्लेख छ ।

लोहोन्द्रा र चिसाङ खोलामा तटबन्ध, हुलाकी मार्ग कालोपत्रे, पेट्रोलखानीको उत्खनन गर्न र शीतभण्डार निर्माण गर्न पनि बजेट छुट्याइएको छ । कृषिलाई यन्त्रिकरण गर्न, निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्न आवश्यक काम गरिने र खेलकुद विकासका लागि कभर्ड हल तथा रङ्गशाला निर्माण गर्न प्रदेश तथा सङ्घीय सरकारसँग रकम माग गरिने उल्लेख छ ।

गत वर्ष बेलबारीले ८० करोड ९२ लाख १४ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।