उर्लाबारीः मोरङको मिक्लाजुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ३९ करोड बढीको बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिका परिसरमा मङ्गलबार आयोजित चौथो गाउँसभामा उपाध्यक्ष सरला राईले ३९ करोड २२ लाख बराबरको बजेट प्रस्तुत गरिन् । प्रस्तुत बजेटमा सङ्घीय सरकारबाट समानीकरण अनुदानमा रु १० करोड २ लाख, सङ्घीय सरकारबाट सशर्त अनुदान १३ करोड २४ लाख, सङ्घीय सरकारबाट राजस्व बाँडफाँडमा ८ करोड ३ लाख प्रदेश सरकारबाट समानीकरण अनुदान ७१ लख ९० हजार, प्रदेश सरकारबाट कर बाँडफाँडबाट ५८ लाख ६० हजार प्राप्त हुने उल्लेख गरिएको छ ।
उपाध्यक्ष राईले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, आवास रोजगारी जस्ता आधारभूत मानवीय आवश्यकताको परिपूर्ति गर्ने उद्देश्यले बजेट विनियोजन गरेको उल्लेख गरिन् ।
मोरङ क्षेत्र नंं १ का प्रदेश सांसद् कुलप्रसाद साम्बा लिम्बूको प्रमुख आतिथ्यता तथा गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यको अध्यक्षतामा भएको गाउँसभामा गाउँपालिकाका पूर्व जनप्रतिनिधि र समाजसेवीलाई सम्मान समेत गरिएको थियो ।