उर्लाबारीः मोरङको उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ५६ करोड बढीको बजेट प्रस्तुत गरेको छ ।

मङ्गलबार उर्लाबारी पार्टी प्यालेसमा चौथो नगरसभामा उपमेयर लक्ष्मी भण्डारीले ५६ करोड ८० लाख ३८ हजार बराबरको बजेट पेश गरेकी हुन् । आगामी आर्थिक वर्षका लागि आयतर्फ ५ करोड ६९ लाख ९१ हजार, सङ्घीय सरकार र राजस्व बाँडफाँडतर्फ १० करोड ४७ लाख, सङ्घीय सरकार वित्तीय हस्तान्तरणतर्फ १५ करोड ४६ लाख छुट्याइएको छ ।

व्ययतर्फ चालु तथा प्रशासनिक खर्चमा ७ करोड ८२ लाख १३ हजार रुपैयाँ, चालु कार्यक्रम खर्च ७ करोड १३ लाख १९ हजार १ सय ८ रुपैयाँ, सशर्त अनुदातर्फ १९ करोड ४६ लाख, स्थानीय स्वायत्त शासन तथा सामुदायिक विकास कार्यक्रमतर्फ १० लाख गरी ३४ करोड ५१ लाख ८२ हजार १ सय ८ रुपैयाँ छुट्याइएको छ । कुल खर्चमा चालुतर्फ ६० दशमलव ७७ प्रतिशत र पूँजीगत खर्चतर्फ ३९ दशमलव २३ प्रतिशत गरी कुल खर्च ५६ करोड ८० लाख ३८ हजार अनुमान गरिएको छ ।

त्यस्तै, मेयर खड्ग फागोले आर्थिक विधेयक २०७६ र विनियोजन विधेयक २०७६ पेश गरेका थिए । मेयर फागोले असार २० गते अर्को नगरसभा गरिने जानकारी दिए । कार्यक्रममा वडा नं. ८ का सदस्य लक्ष्मीनारायण ढुङ्गाना, वडा नम्बर ७ का सदस्य निरोज तिम्सिना, शोभितमाया तामाङ, वडा नम्बर ४ का सदस्य कल्याण राई, वडा नम्बर ६ का सदस्य अम्बिका तामाङ र वडा नम्बर ३ का सदस्य भीष्म बुढाथोकीले सभामा पेश भएका विषयवस्तुमाथि सल्लाह र सुझाव दिएका थिए ।