झापाः मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले मेचीनगर नगरपालिकाको आर्थिक ऐन २०७६ प्रस्तुत गरेकी छिन् । मेचीनगर नगरपालिकाको चौथो नगर सभामा मङ्गलबार अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक उनले प्रस्तुत गरिन् ।

मेचीनगर नगरपालिकाको आर्थिक वर्ष २०७६÷ २०७७ को अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क सङ्कलन गर्ने, छुट दिने तथा आय सङ्कलनको प्रशासनिक व्यवस्था गर्न नेपालको संविधानको धारा २८८ को उपधारा (२) बमोजिम ऐन बनाएको जानकारी दिइन् ।

सो ऐन साउन १ गतेदेखि मेचीनगर नगरपालिका क्षेत्रमा लागू हुने उनले बताइन् । उनका अनुसार सम्पत्ति कर, भूमि कर, घरबहाल कर, सवारी साधन कर, विज्ञापन कर, मनोरञ्जन कर, बहाल बिटौरी शुल्क, पार्किङ शुल्क, दैनिक तथा साप्ताहिक हाटबजार शुल्क, सिफारिश, दस्तुर, भाडा र जरिवाना सोे विधेयकमा समेटिएको छ ।