धरानः आर्थिक वर्ष २०७६÷०७७ को लागि १ अर्ब ७७ करोड ९१ लाख रूपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्दै धरान उपमहानगरपालिकाकोे पाँचौ नगर सभा बुधबार सम्पन्न भएको छ ।
नगरसभाले आगामीआर्थिक वर्षमा धरान उपमहानगरपालिकाले सञ्चालन गर्ने योजनालाई पारदर्शी र नागरिकको सहभागितालाई प्राथमिकतामा राख्ने भएको छ । नगरसभामा नगरसभा सदस्यले उठाएका प्रश्नको जवाफसहित नीति तथा कार्यक्रम र बजेटमा केही संशोधन गरेपछि बुधबार पाँचौँ नगरसभा सम्पन्न भएको हो ।
उपमहानगरकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी (सुवेदी) ले प्रस्तुत गरेको बजेटमा कार्यालय सञ्चालन खर्चतर्फ २६ करोड १० लाख ५० हजार रुपैयाँ र पूँजीगततर्फ १ अर्ब ५१ करोड ८० लाख रुपैयाँ छुट्याइएको बजेट पेश गरेकी थिइन् । बजेटले धरानको पर्यटन, खेलकुद र सांस्कृतिक क्षेत्रको विकासका लागिजोड दिएको छ ।
बजेटमा आन्तरिक आयतर्फ ३२ करोड २७लाख ५ हजार रुपैयाँ अनुमान गरिएको छ । सङ्घीय समानीकरणअनुदान ३१ करोड ९४ लाख, प्रदेश समानीकरण अनुदान ९८ लाख ६८ हजार र सङ्घीय राजस्व बाँडफाँड २५ करोड ८ लाख रुपैयाँ प्राप्त हुने बजेटमा उल्लेख गरिएको छ ।
प्रस्तुत बजेटमा सबैभन्दा बढी नगरका गौरव आयोजनालाई १५ करोड रुपैयाँ विनियोजन भएको नगर कार्यपालिकाका प्रवक्ता मणिराम राईले जानकारी दिए । नगरका गौरवका आयोजना सभागृह पुनर्निमाण, बसपार्क, विभिन्न पार्क निर्माणका लागि यति बजेट विनियोजन भएको हो । सभागृहमा २ करोड ५० लाख रुपैयाँ, बसपार्ककालागि ९५ लाख रुपैयाँ, पार्क निर्माणमा २ करोड बजेट विनियोजन भएको छ राईले भने ।
त्यस्तै, शिक्षामा सबैभन्दा बढी २ करोडका साथमा सङ्घीय सशर्त अनुदान ३० करोड ४८ लाख ७ हजार रुपैयाँ गरी जम्मा ३२ करोड ४८ लाख७हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।
खेलकुदमा पनि यसपटक गतवर्षभन्दा बढी बजेट विनियोजन भएको छ । खेलकुदमा १ करोड ७० लाख रुपैयाँ, पर्यटनमा १ करोड, स्वास्थ्यमा १ करोड ५० लाख बजेट विनियोजन भएको छ । यसपटक ‘एक वडा, एक पार्क’ को योजनाअघि सारिँदै १ करोड बजेट विनियोजन भएको छ ।
नगर सभामा प्रस्तुत गरिएको बजेट अनुसार शहरी विकास तथा भौतिक पूर्वाधारमा ४१ करोड ७५ लाख, सामाजिक विकासतर्फ १ करोड ८७ लाख, पर्यटनका लागि १ करोड, सूचना सञ्चारतर्फ ५० लाख, सुकुम्बासी व्यवस्थापनका लागि ४० लाख बजेट विनियोजन गरिएको छ । जलाधार संरक्षणका लागि७० लाख, न्याय सम्पादनका लागि २० लाख, मजदुर कल्याणका लागि १० लाख, मेयर कोषमा १ करोड, आकस्मिक केषमा ५० लाख र मर्मत कोषमा ५० लाख बजेट विनियोजन गरिएको छ ।
उपमहानगरपालिकाले महिलाको सीप र क्षमता विकासलाई विशेष प्राथमिकता राखेको छ । अब आर्थिक तथा सामाजिक क्षेत्रमामहिलाको समान र प्रत्यक्ष सहभागिता रहने उपमहानगरपालिकाकी कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारी सुवेदीले बताइन् ।