फाइल तस्बिर
इटहरीः इटहरीमा कुनै सार्वजनिक महत्वका पदहरूमा चुनाव हुँदा इटहरी जेसीजले सार्वजनिक बहस अर्थात ‘ककस’ कार्यक्रम आयोजना गर्ने गथ्र्यो । तर, उद्योग वाणिज्य सङ्घ इटहरीको चुनावमा भने ककस भएको छैन । चुनाव आउन २ दिन मात्रै बाँकी हुँदा पनि जेसीजको लोकप्रिय ककस भएको छैन ।
स्थानीय चुनावदेखि प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा ककस भएको इटहरीमा पछिल्लो उद्योग वाणिज्य सङ्घ (उवासङ्घ)को चुनावमा पनि ककस भएको थियो । दुवै पक्षका उमेद्वारहरूलाई एकै स्टेजमा ल्याएर बहस गरिने ककसमा असार १४ गते हुने चुनावमा शैलेश बिष्ट र भीम पौडेल प्यानलको बहस सुन्न र प्रश्न गर्न धेरै उत्साहित थिए ।
सडकमा हुने ककस कार्यक्रममा उमेद्वारको प्रस्तुतिले धेरै मतदाता र आम सर्वसाधारणले विचार निर्माण गर्ने गर ेपनि यो चुनावमा त्यो अवसर गुम्ने जस्तै देखिएको छ ।
इटहरी जेसीजका कार्यकारी उपाध्यक्ष अनिस ढकालले ककस हुने सम्भावना कम भएको बताए । जेसीजको परम्परा र जेसीजसँग इटहरीका नागरिकको आशा भएपनि ककस हुने तयारी नभएको ढकालले बताए । किन यस पटक सर्वाधिक चासोको विषयमा ककस नभएको भन्ने प्रश्नमा उनले भने, ‘जेसीजमा ककस हुनुपर्ने नै नियम र निर्णय छ तर किन भएन भनेर अध्यक्षलाई नै सोध्नुपर्छ ।’ जेसीज अध्यक्ष प्रणालीको संस्था भएकाले अध्यक्षबाटै जानकारी आउने ढकालले बताए ।
यता, इटहरी जेसीज अध्यक्ष विनोद पौडेलले भने ककसका बारेमा अब बोर्ड बैठक बसेर निर्णय गरिने बताए । चुनाव हुन २ दिन मात्रै बाँकी रहेकोमा कहिले निर्णय हुने भन्नेमा भने पौडेलले केही बताएनन् । उनले भने, ‘यस बारेमा बोर्ड बैठकमा छलफल हुन्छ ।’
इटहरी जेसीजमा सन् २००९ का अध्यक्ष तथा उवा सङ्घमा अध्यक्षका उम्मेद््वार शैलेश बिष्टले पनि ककस नभएकाले धेरैलाई निराश बनाएको बताए । ‘इटहरीमा उवासङ्घदेखि स्थानीय सरकार र संसदीय चुनावमा प्रतिष्पर्धीहरूलाई एकै सार्वजनिक मञ्च दिने जेसीजको ककस मात्रै थियो जहाँ प्रश्नोत्तरदेखि आफ्ना कुराहरू राख्ने अवसर हुन्थ्यो’, बिष्टले भने, ‘यस पटक म जस्तो जेसीजको पूर्व अध्यक्ष र वर्तमान जेसीज अध्यक्षज्यूका पिता उम्मेद्वार हुँदा पनि ककस भएन । धेरैमा निराशा छाएको छ ।’
६ हजार बढी मतदाता भएको उवासङ्घ चुनावमा ककस नहुँदा मतदाताले सँगै उम्मेद्वारहरू राखेर प्रश्नोत्तर गर्ने लोकतान्त्रिक अवसर गुमाएको पनि बिष्टले बताए ।