इटहरीः उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनमा युवा तथा साना व्यापारीका मुद्दा ओझेलमा परेको युवा व्यवसायीले गुनासो गरेका छन् ।

उवा सङ्घ निर्वाचनको मिति नजिकिँदै गर्दा युवा उद्यमशीलताको विषयमा कसैले पनि ध्यान दिन नसकेको उनीहरू बताउँछन् ।
उज्यालो इन्टरप्राइजेजका सञ्चालक मदन खतिवडाले साना व्यापारीलाई फाइदा हुने कुनै पनि मुद्दा उवा सङ्घ निर्वाचनमा नउठेको बताए । सानो लगानीमा व्यापार गर्ने व्यापारीलाई प्रोत्साहन गर्ने कार्यक्रम कुनै पनि प्यानलले उठाउन नसकेको उनको भनाइ छ ।

‘हामीजस्ता युवाहरू केही हुन्छ कि भनेर व्यापारमा लागिरहेका छौँ । व्यापार गरेपछि सुरक्षित होस् भन्ने लाग्छ,’ उनी भन्छन्, ‘तर व्यापार गर्नुभन्दा विदेश जाऊ भन्न खोजेजस्तो गरी मुद्दा उठिरहेका छन् । नभए खोइ त युवा उद्यमीको कुरा ? खोइ साना व्यापारीलाई प्रोत्साहन गर्ने कुरा ?’

करोडभन्दा कमको व्यापार गर्ने व्यापारी नै होइनजस्तो गरी व्यवहार भइरहेको उनले बताए । ५ सय रुपैयाँमा व्यापारीलाई किन्न खोज्ने काम अहिलेका उम्मेद्वारले गरिरहेको उनको भनाइ छ । फर्म नवीकरण गरिदिन्छाँै भन्दै भोट किन्न खोजेकोमा उनी दुःखी छन् ।

उनको जस्तै तर्क छ फ्रेन्डसीप जक्सनका सञ्चालक सबिन कटुवालको पनि । उवा सङ्घ निर्वाचन धनी व्यापारीको संस्थाजस्तो देखिएको उनी बताउँछन् । थोरै लगानी गर्ने व्यापारीले पनि उवा सङ्घमा प्रतिनिधित्व गर्न पाउने अवस्था नरहेको उनको तर्क छ ।

भोलि असार १४ गते हुन लागेको निर्वाचनमा युवा व्यवसायीको मुद्दाभन्दा पनि जसरी भए पनि चुनाव जित्नैपर्छ भनेजसरी लागिपरिरहेको उनको बुझाइ छ । युवाहरूलाई कसरी उद्यमी बनाउने र नयाँ युवा व्यवसायीलाई प्रोत्साहन गर्न के गर्ने भन्नेमा कुनै पनि उम्मेद्वारले ध्यान दिन नसकेको उनले बताए ।

khagendra bimali