बेलबारीः बेलबारी नगरपालिका वडा नम्बर ४ ले वडालाई सुपारी जोन बनाउने भएको छ । नगरपालिकाले आर्थिक वर्ष ०७५÷०७६ मा ८ हजार सुपारीका बिरुवा किसानलाई बाँडेको बताएको छ ।

छिटो र सरल तरीकाबाट आम्दानी हुने भएपछि वडाहरूले किसानलाई प्रोत्साहनस्वरूप विभिन्न प्रजातिका बिरुवा बाँडिरहेका छन् । नगरपालिकाले बेलका बिरुवाबाट आम्दानी खोज्ने योजना अगाडि बढाइरहेका बेला वडाहरूले सुपारी, कागती र लिचीजस्ता बिरुवा किसानलाई बाँडिरहेका छन् ।

चालु आर्थिक वर्षमा ८ हजार बिरुवा वितरण गरेको वडा कार्यालयले आगामी आर्थिक वर्षका लागि त्यत्तिकै मात्रामा वितरण गर्न दल राखेको वडाध्यक्ष रामकुमार राईले बताए ।

‘कृषकलाई आम्दानी छिटो दिने र थोरै जग्गामा पनि खेती गर्न सकिँदो रहेछ’, अध्यक्ष राईले भने, ‘प्रत्येक वर्ष उत्पादनमा वृद्धि गर्छौँ ।’ उनले वर्ष दिनभित्रमा सबै वडावासीको घरमा सुपारी देखिने बताए । रोपेको एक वर्षदेखि नै उत्पादन दिने खालका सुपारीका बिरुवा किसानलाई दिएको वडा कार्यालयले जनाएको छ । आफ्नो कार्यकालमा ४ नम्बर वडालाई सुपारी जोनका रूपमा चिनाउने योजना रहेको उनले बताए ।

‘हामीले बिरुवा मात्रै दिएका छैनौँ’, अध्यक्ष राईले भने, ‘उत्पादन दिन थालेपछि त्यसको बजारको जिम्मा पनि वडाले लिन्छ ।’ उनले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि काम गरिरहेकाहरूलाई सुपारीका बिरुवा उत्पादनको काममा लगाइरहेको बताए ।
यस्तै, वडा नम्बर ३ ले वडालाई कागती जोनका रूपमा चिनाउनका लागि कागतीका बिरुवा वितरण गरेको छ । वडा कार्यालयले ७ सय ५० भन्दा बढी बिरुवा रोपेको जनाएको छ । १ घर दुई बिरुवा दिने गरी बिरुवा ल्याए पनि बेलबारी बजारसँगै जोडिएको वडा भएकाले सामुहिक खेतीको अभ्यास समेत भएको वडाध्यक्ष योगेन्द्र सुवेदीले बताए ।

उनका अनुसार अहिले किसानहरू मिलेर सामुहिक रूपमा कागती खेती गरिरहेका छन् । ‘बजारमा कागतीको दाम अत्यधिक छ’, उनले भने, ‘पुख्र्याैली खेतीभन्दा आधुनिक कृषिका लागि प्रोत्साहन गरेको हौँ ।’ रोपेको ६ महिनादेखि उत्पादन दिने जातको कागती रोपिएको उनले बताए ।

यस्तै ९ नम्बर वडाले लिची जोन बनाउने भएको छ । सबै किसानलाई लिचीका बिरुवा वितरण गरिने वडाध्यक्ष नगेन्द्र खड्काले बताए । नगरपालिकाले भनृ बेलका बिरुवालाई प्राथमिकता दिने बताएको छ ।

बेलबारीको पहिचान पनि झल्किने र आम्दानी पनि हुने हुनाले १० हजार बेलका बिरुवा रोप्ने नगरपालिकाले घोषणा गरिसकेको छ । बेलको दानाबाट जुस उत्पादन गर्ने गरी बिरुवा रोप्न थालेको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । नगरपालिकाले खाली जग्गामा बेलका बिरुवा रोपिने जनाएको छ ।