इटहरीः असार १२ गते उद्योग वाणिज्य सङ्घ इटहरीको साधारण सभामा इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले दिएको अभिव्यक्तिको सर्वत्र आलोचना भएको छ ।
जसका कारण निर्वाचन परिणाममै असर पर्न सक्ने व्यवसायी बताउँछन् । नयाँ कार्यसमितिको चुनावी माहोल चर्किरहेको बेला उनले अध्यक्षका प्रत्यासी शैलेशकुमार बिष्टलाई भोट मागेपछि उनको विरुद्धमा कार्यक्रम स्थलमा नाराबाजी भएको थियो । उनको अभिव्यक्तिको कारण चुनावी नतिजामा प्रभाव पार्न सक्ने व्यापारीहरूको अनुमान छ ।
उनले अध्यक्षका अर्का प्रत्यासी भीमबहादुर पौडेलको विरुद्धमा अभिव्यक्ति दिएपछि उनको विरुद्धमा नाराबाजी भएको थियो । उपमेयर गौतमले धम्कीपूर्ण भाषा प्रयोग गर्दै खलासी र ड्राइभरले चुनाव जित्ने उद्देश्यले फर्म दर्ता गराएको बताएकी थिइन् । ‘ड्राइभर र खलासीले फर्म ल्याएर दर्ता गराएका छन् । पछि कर नतिरे म तिनीहरूको सबै काम रोकिदिन्छु,’ उनले भनिन्, ‘किसानले फर्म ल्याउने, भोलि उनीहरूले कसरी कर तिर्न सक्छन् ? यस्तो हुन दिनुहुँदैन ।’
ढुङ्गा गिटीको दोहन गर्नलाई मत नहाल्न उनले अनुरोध गरेकी थिइन् । पौडेल क्रसर व्यवसायी भएको र ढुङ्गा गिटीको कारोबार गर्ने भएकाले भोट नदिन उनले साङ्केतिक तरिकाले भनेकी थिइन् । उनले पौडेलको विरुद्धमा भाषण गरेपछि उपस्थित व्यवासायी आन्दोलित भएका थिए ।
चुनाव जित्न किसान, ड्राइभर, खलासीलाई फर्म दर्ता गराउन लगाइएको भन्दै कर नतिरे तिनीहरूका नानीहरूको जन्मदर्ता रोकिदिने धम्की दिइन् । त्यसले पनि उपमेयरलाई थप विवादित बनायो ।
ढुङ्गागिटीको दोहन गर्नेलाई किन मत हाल्नु, अनि उहाँले लेटाङमा विकास गरेको भन्ने सुनेको र त्यहाँको विकासले यहाँ के हुन्छ ? भन्दै उनले प्रश्न गरेकी थिइन् ।
सार्वजनिक पदमा बसेकी उपमेयरबाट उवासङ्घका उम्मेद्वारको भोटमाग्ने काम भएपछि व्यवसायीहरू आन्दोलित बने । शनिबार सम्पन्न निर्वाचनमा त्यसको पराकम्पन देखिने धेरैले अनुमान गरेका छन् । इटहरीका एक व्यवसायी विकाश घिमिरेले शैलेश बिष्ट ठीक भएपनि उपमेयरले दिएको अभिव्यक्तिले आफूहरूलाई सोच्न बाध्य बनाएको बताए ।
सार्वजनिक पदमा बसेको मान्छेले कसैको पक्षमा लाग्न नहुने उनको तर्क थियो । आज शुरु हुने मतगणनामा त्यसको असर देख्न सकिने उनको बुझाइ छ । उनका अनुसार शैलेश बिष्ट प्यानललाई कमजोर बनाउने रणनीतिले त्यसो भनिएको हो ।
घिमिरे मात्र होइन धेरै व्यापारीले उपमेयरको भाषणले निर्वाचन परिणाममा असर गर्ने बताएकाछन् । घुमाउरो शैलीमा पौडेलले विकास गरेको पनि बताएको र खुलेर बिष्टको पक्षमा भोट पनि माग्दा त्यसको पराकप्पन परिणाममा देखिने व्यवसायी बताउँछन् ।
उता, उपमेयर गौतम भने आफूले गलत मनसायले त्यसो नभनेको बताउँछिन् । निर्वाचनको लागि दर्ता भएका फर्मले भोलि कर तिरेनन् भने स्थानीय सरकारले सेवा सुविधा रोक्न सक्नेबारे सचेत गराउने उनको भनाइ छ ।
उम्मेद्वारले दर्ता गराइदिएको फर्मको समयमा नवीकरण गरिएन र कर तिरिएन भने जरिवानामा पर्न सकिने बारेमा आफूले सचेत गराउन खोजेको उनले बताइन् । उनले विज्ञप्तिमार्फत् सो विषयमा आफ्नो धारणा सार्वजनिक गरेकी छिन् ।