इलाम: चियाको राजधानीमा उद्योगीले चिया खरिद नगरेपछि किसानले मेची राजमार्गमा हरियो चियापत्ती पोखेका छन । किसानहरुले इलाम टि प्रोड्युर्स प्रा.लि. पञ्चकन्यामा विक्री गर्न लगेको करिव १ हजार किलो ग्राम बढी हरियोपत्तीको गुणस्तर नपुगेको भन्दै फर्काएपछि विरोध स्वरुप सूर्योदय नगरपालिकाको गेटमै किसानले चिया पोखेका हुन । किसानले आईतबार साझ नगरपालिका अगाडी, नयाँ चोक, र फिक्कल बजारमा चिया पोखेर बिरोध जनाएका छन् ।
साँझ ७ बजे किसानहरुको एक समुहले ५ सय केजी चिया पोखेको आधा घण्टा नवित्दै अर्को समुहले सोही स्थानमा थप ५ सय केजी चिया पोख्यो । यसअघि किसान र उद्योगीले सहमतीमा चिया खरिद बिक्री गर्दै आएकोमा नगरपालिकाले चियाको मुल्य निर्धारण सम्वन्धी कार्यविधी २०७५ लागु गरेर हरियोपत्तीको न्यूनतम मुल्य प्रति किलोग्राम ४० रुपैया कायम गरेको थियो । उद्योगीहरुले अहिलेको सिजनमा उत्पादन भएको चियापत्तीमा गुणस्तर खस्किएकाले नगरपालिकाले तोकेको दररेटमा चिया खरीद गर्न नसक्ने भन्दै असार १० गते पत्र पठाएर १२ गते देखि उद्योग बन्द गरेका थिए ।
उद्योगीहरुको संगठन सूर्योदय टि प्रोड्युर्सस एसोसिएसनमा आवद्ध ५२ वटा चिया कारखाना एकै पटक बन्द भए पछि शनिवार नगरपालिका, किसान, उद्योगी र वाणिज्य संघका प्रतिनिधीहरु बिच उद्योग संचालन गर्ने सहमती भएको थियो । समस्या समाधानका लागी तत्काल गुण स्तरका आधारमा मात्र नगरले तोकेको मुल्यमा चिया खरीद गर्ने र एक उच्च स्तरीय समिति बनाएर दिर्घकालीन रुपमा चिया क्षेत्रका समस्या समाधान गर्ने सहमती भएको थियो ।
उद्योग संचालनमा आएको १२ घण्टा नवित्दै किसानको चियाको गुणस्तर नपुगेको भन्दै कारखानाले चिया फकाएपछि किसानहरुले अर्को आन्दोलन थालेका हुन । सुर्योदय नगरपालिका–११ का किसान लेखनाथ भट्टराईले नगरले तोकेको गुणस्तरलाई ध्यानमा राखेपनि सवै पत्ती एउटै स्तरको नहुने बताए । उनले उत्पादित पत्ती अनुसार मुल्य निर्धारण गनुपर्ने बताए । उद्योगले यसअघि राम्रो पत्ती ४० रुपैया र नराम्रो पत्ती ३० रुपैया प्रतिकेजी खरिद गर्ने गरेको थियो । तर छलफल पछि कार्यविधीमा तोकिएको अनुसारको गुणस्तर नपुगेको चिया उद्योगले खरिद नगरेपछि किसानहरुले गेटबाटै पत्ती फर्काएका हुन ।