इटहरीः उद्योग वाणिज्य सङ्घ इटहरीका नवनिर्वाचित अध्यक्ष भीमबहादुर पौडेलले युवा उद्यमशीलता र व्यावसायिक बीमामा जोड दिने बताएका छन् । उनले आफूले सङ्कल्प पत्रमा सार्वजनिक गरेका सम्पूर्ण बुँदा कार्यान्वयन गरिने बताए ।

हालका वरिष्ठ उपाध्यक्ष शैलेश बिष्टसँग चुनावी मैदानमा उत्रिएका पौडेल प्यानलसहित विजयी भएका हुन् । आफ्नो प्यानल नै विजयी भएकाले काम गर्ने विषयमा थप सहज हुन सक्ने उनको बुझाइ छ । निर्वाचनमा पराजित भएको समूहको कुरा सुन्ने र हरेक गतिविधिमा सबैलाई साथमा लिएर जाने उनको योजना छ ।

युवाहरू उद्यमी भए भने शहरको विकास हुने र शहरको विकास भएपछि मात्र आर्थिक समृद्धि हासिल हुन सक्ने भन्दै उनले युवा उद्यमशीलतामा जोड दिने योजना अगाडि सारेको बताए । इटहरीका अधिकांश युवा रोजगारीको अभावमा वैदेशिक रोजगारमा लागिरहेकाले ती ऊर्जाशील युवालाई नेपालमै रोकेर कामगर्ने वातावरण सिर्जना गर्न सक्नुपर्ने उनको भनाइ छ । त्यसको नेतृत्व अब उवा सङ्घ इटहरीले गर्ने उनी बताउँछन् ।

सङ्कल्पपत्रमा उल्लेख भएको सार्वजनिक शौचालय निर्र्र्माण गर्ने र व्यवसायको ५ लाखसम्मको निःशुल्क बीमा कार्यक्रमलाई शुरुबाट नै कार्यान्वयनमा ल्याइने उनको योजना छ । लामो समयदेखि उठ्दै आएको सार्वजनिक शौचालयको विषयलाई सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत सम्पन्न गरिने उनी सुनाउँछन् ।

त्यसबाहेक कर तथा घरबहालकरको समस्या समाधान गर्ने, इटहरीमा प्रदर्शनी स्थल र औद्योगिक क्षेत्र स्थापना गर्ने, विज्ञ परामर्शदाताको व्यवस्था गरिने, जब फेयर तथा ट्रेड फेयर आयोजना गरिनेलगायतका व्यावसायिक एजेण्डा समावेश गरिएको छ । जसबाट व्यावसायिक प्रवद्र्धन तथा नयाँ व्यवसायमा उत्साह थपिने उनको विश्वास छ ।

हरेक ६ महिनामा व्यवसायीको घरैमा पुगेर समस्या सङ्कलन गर्ने कामलाई लागू गरिने उनी बताउँछन् । जुन विषय उनले सङ्कल्पपत्रमा उल्लेख गरेका छन् । थोक र खुद्रा व्यापारीबीचमा देखिएको समस्यालाई समन्वयात्मक रूपमा हल गर्ने पौडेलको योजना छ । त्यसका साथै औद्योगिक महोत्सव र रोजगार मेला लगाएर उद्योग र रोजगारीलाई प्रोत्साहन गर्ने उनी बताउँछन् । सामाजिक सुरक्षा ऐन र श्रम ऐनको पूर्ण कार्यान्वयनको लागि भूमिका खेल्ने उनी बताउँछन् ।

वातावरणमैत्री शहर निर्माणको लागि प्लास्टिक झोलामुक्त इटहरी बनाउने अभियानलार्ई प्राथमिकता दिने उनको योजना छ । पूर्व अध्यक्ष रोहित प्रसाईँको कार्यकालमा शुरु भएको उक्त कार्यक्रमलाई कडाइका साथ कार्यान्वयन गरिने उनको भनाइ छ ।

bhim paudel  (2)