भोजपुरः भोजपुर सदरमुकामस्थित सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुखलाई १ लाख ८० हजार रुपैयाँ घुस रकमसहित अख्तियारले रङ्गेहात पक्राउ गरेको छ ।

प्रदेश नं. १ मातहत रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भोजपुरका प्रमुख इञ्जिनियर मोहनबाबु यादवलाई उपभोक्ता समितिबाट घुस लिँदै गर्दा सोमबार मध्याह्न्न पक्राउ गरिएको हो । षडानन्द नगरपालिका वडा नं. १३ स्थित छाँगे खोला सिँचाइ आयोजनाको चालु आर्थिक वर्षको योजनाको फरफारक गर्ने क्रममा उपभोक्ता समितिका अध्यक्षलगायत पदाधिकारीबाट इञ्जिनियर यादवले सो रकम लिएको बताइएको छ ।

करीब ९८ लाख लागत अनुमान रहेको सो आयोजनाको यस वर्ष १७ लाख ८७ हजार १ सय ६७ रुपैयाँको काम गर्ने गरी सम्झौता भएको कार्यालय स्रोतले जनाएको छ । उपभोक्ता समितिका एक सदस्यका अनुसार इञ्जिनियर यादवले २० प्रतिशत कमिशन दिए मात्र मूल्याङ्कन गरी बिल पास गरिदिने बताउँदै आएका थिए ।

आर्थिक वर्षको अन्त्यमा कार्यालयमा उपभोक्ताहरूको कामको चापलाई छाडेर हिँडेका इञ्जिनियर यादव कार्यालय नजिकै रहेको फुपूभदैनी खाजा घर एण्ड लजमा घुस रकम लिन पुगेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले सोही होटलबाट उनलाई रङ्गेहात पक्रेको हो ।

भोजपुर नगरपालिका वडा नं. १० भैंसीपङ्खाको खुरिलास्थित सिँचाइ आयोजनाको भुक्तानी तथा फरफारकमा समेत इञ्जिनियर यादवले आलटाल गर्ने गरेको बताइएको छ ।