धरानः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रपितष्ठानका पूर्व उपकुलपति बीपी दाससहित ८ जना विरुद्ध १६ करोड बढी भ्रष्टाचार गरेको आरोपमा सोमबार मुद्दा दर्ता गरेको छ । प्रतिष्ठान भवन निर्माण ठेक्काको कमिसनबापत ८ लाख रुपैयाँ घुससहित उपकुलपति राजकुमार रौनियारलाई रङ्गेहात पक्राउ गरेको ५ दिनपछि भ्रष्टाचार मुद्दामा ८ जनामाथि अख्तियारले मुद्दा दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयले सोमबार पूर्व उपकुलपति दाससहित प्रतिष्ठानका विभिन्न जिम्मेवारीमा रहेर काम गरिरहेका ८ जना विरुद्ध मुद्दा दायर गरेको हो । १६ करोड १० लाख ७५ हजार ८२ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको हो । निकै लामो अनुसन्धानपछि उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले विशेष अदालतमा उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवानासहित बिगो रकम असुलको मागदाबीसहित मुद्दा दर्ता गरेको हो । प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीले ऐन विपरीत बदनियतपूर्वक गैरकानुनी रूपमा आर्थिक लाभ लिई सप्लायर्स तथा आफूलाई फाइदा र प्रतिष्ठानलाई हानि नोक्सानी पु¥याएको उनीहरूविरुद्ध दायर मुद्धाको आरोपपत्रमा उल्लेख गरिएको छ ।

table

सबैभन्दा बढी पूर्व उपकुलपति दासले ४ करोड ८ लाख ९८ हजार १९ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ । अस्पतालका तत्कालीन निर्देशक अरविन्दकुमार सिन्हाले ३ करोड ७५ लाख ३० हजार ६ सय १९ रुपैयाँ भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ ।

त्यस्तै, हालका रजिष्ट्रार तुलबहादुर श्रेष्ठले ५६ लाख ७७ हजार ४ सय ५, लेखा प्रमुख दिनेशराज दाहालले २ करोड ३४ लाख ८१ हजार ८ सय १९, डेपुटी म्यानेजर अमित श्रीवास्तवले १ करोड ७४ लाख भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दायर गरिएको आरोपपत्रमा लेखिएको छ ।

उपकरण सप्लायर्स कम्पनी प्रोसिजन मेडिकल प्रालि र बायोमेड इन्टरनेसनलका प्रोप्राइटर चेतन अग्रवालले १ करोड ४ लाख र उपकरण सप्लायर्स सर्विकेम डिस्टिब्युटर्सका प्रोप्राइटर उमेश अग्रवालले ६० लाख ३७ हजार रकम भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

५ दिनअघि अख्तियारको केन्द्रीय कार्यालयबाटै खटिएको विशेष टोलीले उपकुलपति राजकुमार रौनियार र उनका भतिजा रामहरि रौनियारलाई ८ लाख घुससहित पक्राउ गरेको थियो । उजुरीका आधारमा पक्राउ परेका उनीहरू दुवैलाई अख्तियारले काठमाडौं लगेर नियन्त्रणमा राखी आवश्यक अनुसन्धान गरिरहेको छ । केही दिनपछि रौनियारद्वयविरुद्ध विशेष अदालतमै मुद्दा दायर गरिने अख्तियारले जनाएको छ ।