पथरीः पेट्रोलियम पदार्थको व्यवसाय गर्ने पथरीशनिश्चरे– ८ का कैलाश गुप्ताको घरमा आगलागी हुँदा उनको ६ कोठे पक्की घरका सम्पूर्ण सरसामान लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न जलेर नष्ट भएको थियो । आगलागीमा परेर २ वटा मोटरसाइकलसमेत जलेका थिए ।
असार २६ गते राति अन्दाजी २ बजे लागेको सो आगो बिहान ५ बजेमात्र नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । आगलागीमा गुप्ता परिवारको ७२ लाख रुपैयाँ बराबरको क्षति हुन पुगेको प्रहरीले जनाएको छ ।
गुप्ताको परिवारलाई नगरपालिकाले मङ्गलबार राहतस्वरूप ५१ हजार रुपैयाँ उपलब्ध गराएको छ । यस्तै, उप–प्रमुख यमुना बिष्ट बास्तोलाले व्यक्तिगत रूपमा ५ हजार रुपैयाँ सहयोग गरेकी छिन् ।
वडा नम्बर ८ को तर्फबाट वडाको विपद् व्यवस्थापन कोषमार्फत तत्काललाई १० हजार रुपैयाँ राहत प्रदान गरिएको वडा कार्यालयले जनाएको छ । ग्यास लिक भएर वा विद्युत सट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।
नेपाली काङ्ग्रेस नगर कमिटीले गुप्तालाई सहयोग स्वरुप १५० सीसीको पल्सर मोटरसाइकल प्रदान गरेको छ । त्यस्तै, साईराम अटोका शम्भु बुढाथोकीले १५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
लायन्स क्लब अफ अफ योङहार्ट र लायन्स क्लब अफ पथरीले संयुक्त रूपमा गुप्तालाई खाद्यान्न प्रदान गरेका छन् । सोमबार पीडितकै घरमा पुगेर ती संस्थाले राहत सामाग्री वितरण गरेको लायन्स योङहार्ट पथरीका अध्यक्ष राजेन्द्र बस्नेतले जानकारी दिए । राहतस्वरुप ३ बोरा चामल, १ बोरा दाल, खाने तेल, चाउचाउ लगायतको सामग्री दिइएको केदार बोहोराले बताए ।
प्रभात सामुदायिक युवा क्लब पथरी– ८ ले सामाजिक सञ्जालमार्फत् राहत सङ्कलन शुरु गरेको क्लबका अध्यक्ष नवीनजङ्ग कार्कीले बताए ।