बेलबारीः मोरङको बेलबारी नगरपालिकाले बैशाख महिनाभित्र विकास निर्माणका काम सक्ने घोषणा गर्दै चौथो नगरसभा सम्पन्न गरेको छ ।
आर्थिक वर्ष ०७६÷०७७ का लागि असार १० गते बजेट तथा नीति र कार्यक्रम ल्याएको नगरपालिकाले मङ्गलबारको नगरसभाद्वारा त्यसलाई पारित गरेको हो ।
नगरपालिकाले सञ्चालन गरेका योजना बैशाख महिनाभित्रमा सक्ने मेयर ज्ञानेन्द्र सुवेदीले बताए । नगरपालिकाले आर्थिक वर्ष ०७६÷०७७ का लागि १ अर्ब ९१ लाख ९० हजार बराबरको बजेट विनियोजन गरेको छ । चौथो नगरसभामा नगरपालिकाले पूँजीगततर्फ ४२ करोड ५० लाख ५८ हजार विनयोजन गरेको छ भने चालु खर्चतर्फ ५८ करोड ४१ लाख ३२ हजार अर्थात ५७ दशमलव ८८ प्रतिशत बजेट विनियोजन गरेको छ ।
यस्तै, प्रशासनिक कार्यमा वडास्तरीय कार्यालय सञ्चालनको लागि ६० लाख ५० हजार र नगरपालिकातर्फ १२ करोड १८ लाख ५९ हजार गरी १२ करोड ७९ लाख ९ हजार विनियोजन गरिएको छ । आर्थिक विकास समितितर्फ ४ करोड १२ लाख ६० हजार बराबरको रकम विनियोजन गरेको छ । सामाजिक विकास समितितर्फ २४ करोड ८४ लाख ६ हजार बराबरको रकम विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।
सार्वजनिक सेवा तथा क्षमता विकास समितितर्फ १ करोड १६ लाख ३३ हजार बराबरको रकम विनियोजन प्रस्ताव गरिएको थियो भने वातावरण तथा विपद् व्यवस्थापन विकास समितितर्फ नगरस्तरीय वातावरणीय तथा विपद् व्यवस्थापन कार्यक्रममा ६० लाख र वडास्तरीय कार्यक्रममा १० लाख ५१ हजार गरी जम्मा ७० लाख ५१ हजार बजेट विनियोजन गरिएको छ ।
भौतिक पूर्वाधार विकास समितितर्फ २८ करोड ९६ लाख ४७ हजार बराबरको रकम विनियोजन प्रस्ताव गरिएको छ । लागत सहभागितामा ३ करोड बराबरको बजेट तथा कार्यक्रम समावेश गरिएको छ । नगरपलिकालिकाले दमकल र शव वाहन खरीद गर्ने जनाइएको छ । नगरपालिकाले शव वाहनका लागि ३० लाख र दमकलका लागि ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
गर्भवती महिलाको निःशुल्क गर्भपरीक्षण साथै असहाय र बेवारिशेको मृत्यु हुँदा उनीहरूको दाहसंस्कार नगरपालिकाले गर्ने भएको छ । बोयर जातको बाख्रा पालनका लागि नगरपालिकाले विशेष प्राथमिकता दिएको छ । जसका लागि १ करोड २५ लाख रुपैयाँ नगरपालिकाले विनियोजन गरेको छ । बेलबारी–८ रइझारमा रहेको कयरखोलामा पक्की पुल निर्माण गर्नका लागि नगरपालिकाले डीपीआर बनाई काम थाल्ने जनाएकोे छ ।
बेलबारी–१ मा २२ करोडको लागतमा व्यापारिक कम्प्लेक्स निर्माण गरिने र गरीबसँग नगरपालिका कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ । स्वास्थ्य चौकी नभएका वडामा स्वास्थ्य चौकी स्थापना गरिने भएको छ । होमस्टे सञ्चालनका लागि प्रक्रिया अघि बढाइने पनि बताइएको छ ।
लोहोन्द्रा र चिसाङ खोलामा तटबन्ध, हुलाकी मार्ग कालोपत्रे, पेट्रोलखानीको उत्खनन र शीतभण्डार निर्माण गर्न पनि बजेट छुट्याइएको थियो । कृषिलाई यन्त्रिकरण गर्न, निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्न आवश्यक काम गरिने र खेलकुद विकासका लागि कभर्ड हल तथा रङ्गशाला निर्माण गर्न प्रदेश तथा सङ्घीय सरकारसँग रकम माग गरिने उल्लेख छ ।