विराटनगरः सरकारले आवश्यक पूर्वाधारको विकास नगरी वेभमा आधारित ढुवानी प्रणाली बुधबारदेखि लागू गरेको भन्दै मोरङका उद्योगी, व्यापारीले चर्को विरोध गरेका छन् ।
मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङले संयुक्त रूपमा बुधबार विराटनगरमा आयोजना गरेको वृहत भेलामा बोल्दै उद्योगी, व्यवसायीले चर्को विरोध गरेका हुन् । ढुवानीमा लगाइएको १३ प्रतिशत भ्याटले मूल्य एक्कासी वृद्धि हुने भएकाले उक्त प्रावधान तत्काल खारेज गर्न उनीहरूले माग गरेका छन् ।
त्यस्तै, १ हजार रुपैयाँभन्दा बढी ज्याला भुक्तानी गर्नुपरेमा सम्बन्धित ज्यालादारी कामदारको प्यान नम्बर आवश्यक पर्ने प्रावधान अव्यावहारिक भएको भन्दै उक्त प्रावधान खारेज गर्न उनीहरूले माग गरेका छन् ।
कार्यक्रममा बोल्दै उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले वेभमा आधारित ढुवानी प्रणाली लागू गर्नका लागि ६ महिनाको समय माग गरे । उनले भने, ‘उद्योगी व्यापारी सधैं सकारात्मक सोचका साथ अगाडि बढेको बेलामा सरकारले ल्याएको अनावश्यक नीति नियम नसच्याए आन्दोलन गर्न पनि पछि परिँदैन ।’
मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले सरकारले निर्णय फिर्ता लिनुपर्ने बताए । उनले करमात्र उठाउने, उद्योगी तथा व्यवसायीलाई निरास बनाउने काम गर्न नहुने बताउँदै भने, ‘सरकारका गतिविधिले निजी क्षेत्र नै निराश हुने अवस्था आउनु हुँदैन ।’
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधान, मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष सुरेशराज शर्मा, उद्योग सङ्गठन मोरङका पूर्वअध्यक्ष सुशील धनावतलगायतले सरकारले उद्योगी, व्यापारीलाई गर्ने व्यवहारमा परिवर्तन आउन नसकेको बताए । उनीहरूले सरकारमा ५० वर्षअघिकै सोच र शैली देखिएको आरोप लगाए ।