झापाः झापाको कचनकवल गाउँपालिकााले आर्थिक वर्ष २०७६÷०७७ का लागि ४७ करोड ६० लाख विनियोजित बजेट विनियोजन गरेको छ ।

बजेटमा आन्तरिक स्रोततर्फ २ करोड, नेपाल सरकारबाट प्राप्त अनुदान १२ करोड ६० लाख, राजस्व बाँडफाड ९ करोड ६२ लाख र प्रदेश सरकारबाट ५५ लाख ४५ हजार रुपैयाँको आय अनुमान गरिएको छ । यस्तै, सशर्त अनुदान १६ करोड ३४ लाख, तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत १ करोड, पूर्वाधार विकास कार्यक्रम २ करोड ५० लाख र अन्य २ करोड ९८ लाख ५५ हजारसहित ४७ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँपालिकाका प्रमुख अञ्जार आलमको अध्यक्षता तथा सङ्घीय सांसद राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा बजेट सार्वजनिक गरिएको हो । कार्यक्रममा बजेट प्रस्तुत गर्दै आलमले कक्षा १२ सम्म सबै विद्यार्थीलाई निःशुल्क शिक्षाको घोषणा गरे । उनले छात्राहरूलाई क्याम्पस तहमा पनि निःशुल्क शिक्षाको व्यवस्था गरिएको जानकारी दिए ।

गाउँपालिकाका प्रमुख आलमले प्रत्येक वडाका एक एक विद्यालयमा नमूना बाल कक्षा सञ्चालन गर्ने, सबै माध्यमिक विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षा लागू गर्ने र अङ्ग्रेजी माध्यमबाट गरिने पठनपाठनलाई प्राथमिकता प्रदान गरिने पनि घोषणा गरे । यस्तै प्राथमिक स्वास्थ्य चौकी बनियानीमा मृगौला रोगीहरूका लागि डायलासिस सेवा सञ्चालन गर्ने गाउँपालिकाको लक्ष्य छ ।

कृषि उत्पादन बढाउन खेत बाँझो नराख्ने शर्तमा किसानलाई मोटर बोरिङ, मल बीउ र औजार वितरणको व्यवस्था मिलाइने, माछापालन र अर्गानिक तरकारी खेतीमा विशेष प्रोत्साहन र अनुदानको व्यवस्था मिलाइनेजस्ता रचनात्मक अभ्यासका लागि कचनकवल अग्रसर देखिएको छ ।

प्रस्तुत बजेटमा बेरोजगार युवा लक्षित तालीम केन्द्र र स्वरोजगार कोषको स्थापना गर्ने, सीप भएका र तालीम केन्द्रमार्फत् सीप सिकेका युवालाई साना घरेलु, कुटीर उद्योग र व्यवसाय सञ्चालनका लागि अनुदान तथा ऋणको व्यवस्था मिलाउने उल्लेख छ ।

स्थानीय ३० सय जनाभन्दा बढीलाई रोजगार प्रदान गर्ने वातावरणमैत्री रोजगारमूलक उद्योग स्थापना गर्न चाहने उद्योगीलाई १० वर्षसम्म सबै प्रकारका स्थानीय कर छुट दिने र बिजुली, बाटोलगायतका पूर्वाधार निर्माणमा समेत सहयोग गर्ने बताइएको छ ।