झापाः झापाको भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षका लागि ७१ करोड ४१ लाख ४ हजार रुपैयाँको बजेट पारित गरेको छ ।

बजेटमा आन्तरिक स्रोततर्फ ५० करोड ७० लाख, नेपाल सरकारबाट प्राप्त अनुदान ८५ करोड ३१ लाख ८४ हजार र प्रदेश सरकारबाट ६ करोड ५२ लाख आय अनुमान गरिएको छ ।

भद्रपुरका नगर प्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षता तथा सङ्घीय सांसद सुरेन्द्रकुमार कार्कीको प्रमुख आतिथ्यमा बजेट सार्वजनिक गरिएको थियो । कार्यक्रममा प्रदेश संसद ओमप्रकाश सरावगी, गोपालकुमार बुढाथोकी, नेकपाका जिल्ला सदस्य असारू राजवंशी, नगर अध्यक्ष शिवकुमार राजभण्डारी लगायतले मन्तव्य राख्दै बजेट कार्यान्वयनमा गए समृद्ध भद्रपुरको सपना पूरा हुने बताए ।

यसैबीच भद्रपुर नगरपालिकाबाट ७ वर्षयता वार्षिक रूपमा वितरण हुँदै आएको विकास पत्रकारिता पुरस्कारबाट झापाका अग्रज पत्रकार नकुलकाजी सम्मानित भएका छन् । दुई वर्षयता रोकिएको दीर्घ सेवा पुरस्कारको नाम दिइएको सो सम्मानमा नगद १५ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी, नगर पत्रकारिता प्रोत्साहन पुरस्कार भद्रपुरबाट प्रकाशन हुने वरूण साप्ताहिकका व्यवस्थापक धर्मराज राईलाई प्रदान गरियो । उनले १० हजार नगद पाए । कार्यक्रममा उत्कृष्ट कर्मचारी सम्मानबाट प्रमोद प्रधान र मनकुमार डाँगी सम्मानित भए । जग्गादाता, उपभोक्ता समितिका उत्कृष्ट पदाधिकारी लगायतलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।