दमकः दमक नगरपालिकाले पाँचौं नगर सभाबाट आर्थिक वर्ष ०७६÷०७७ को लागि १ अर्ब ४५ करोड ४१ लाख ३५ हजारको बजेट पारित भएको छ ।

नगरसभामा दमकमा रहेर विभिन्न क्षेत्रमा काम गर्ने ८ जनालाई सम्मान गरिएको छ । नगर प्रमुख रोमनाथ ओलीले ८ जनालाई दोसल्ला ओढाएर समान पत्रसहित जनही नगद २० हजार रुपैयाँ प्रदान गरेका थिए ।

सम्मानित हुनेमा सञ्चारकर्मी टीकाराम उप्रेती, पूर्व प्रधानपञ्च धनबहादुर श्रेष्ठ, हिमालय मावि दमकका पूर्व प्रधानध्यापकद्वय छविलाल शर्मा सिटौला र विदुर खतिवडा रहेका छन् ।

त्यसैगरी १ सय ८ पटक रक्तदान गरेका रक्तदाता राजकुमार श्रेष्ठ, उत्कृष्ट करदाताको रूपमा लाइफ लाइन अस्पताल दमक, गणेशकुमार श्रेष्ठ र कल्पना सुवेदीलाई प्रमाण पत्र र दोसल्लाले सम्मान गरेको छ । नगरसभामा नगर प्रमुख ओलीले नगरको विकासमा सबैले आफ्नो ठाउँबाट सहयोग गर्न नगरवासीलाई आग्रह गरे ।