इटहरीः उद्योग वाणिज्य सङ्घ इटहरीका नवनिर्वाचित अध्यक्ष भीमबहादुर पौडेलले आफू बोलेको कुरा हुबहु पूरा गर्ने अध्यक्षको परिचय बनाएर बिदा हुने बताएका छन् । उवा सङ्घ इटहरीको ९ औँ पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू बोलीमा भन्दा काममा विश्वास गर्ने व्यवसायी भएको बताए ।

यही असार १४ गते सम्पन्न निर्वाचनमा लोकतान्त्रिक प्यानलबाट विजयी भएका पौडेलले काममा विश्वास गर्न व्यवसायीलाई आग्रह गरे । निर्वाचनमा प्रतिष्पर्धा भए पनि अब त्यो सबै बिर्सेर काममा लाग्नुपर्ने उनले बताए । अब पक्ष विपक्ष नभनी काम गर्नुपर्ने र आफूले कसैप्रति अग्रह नराखी काम गर्ने उनको भनाइ छ ।

स्थानीय सरकारसँगको समन्वयमा संस्थागत विकासको लागि आफू दत्तचित्त भएर लागिपर्ने उनले बताए । चुनावको दौरानमा आफूले १० ओटा प्राथमिकता सार्वजनिक गरेको र ती पूरा गरेरै छाड्ने उनले उद्घोष गरे ।

सोही क्रममा उनले पदाधिकारी समेत मनोनित गरेका छन् । वरिष्ठ उपाध्यक्ष दिवस पोखरेल, उद्योग उपाध्यक्ष लक्ष्मण हुमागाई, वाणिज्य उपाध्यक्ष अनिल सुब्बा, महासचिव पिताम्बर पोखरेल, उद्योग सचिव विष्णु डाँगी, वाणिज्य सचिव शोभा कोइराला र कोषाध्यक्षमा गायत्री उनले कटवाललाई मनोनित गरेका हुन् । त्यस्तै उनले विभिन्न विषयगत समिति बनाएर कार्य विभाजन समेत गरेका छन् ।

उवा सङ्घको सभाहलमा भएको कार्यक्रममा निर्वाचन अधिकृत विश्व रिजालले निर्वाचित पदाधिकारीलाई शपथ ग्रहण गराएका थिए । निवर्तमान अध्यक्ष लीलम बस्नेतले पौडेललाई पदभार ग्रहण गराएका थिए ।