धनकुटाः सरकारले लागू गरेको ‘भेहिकल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ प्रणाली’ को विरोधमा धनकटाका व्यवसायी आन्दोलित बनेका छन् ।

पहाडी क्षेत्रका व्यवसायीलाई यसले प्रत्यक्ष असर गर्ने भन्दै पूर्ववत अवस्थामै कारोबार गर्न दिन माग गरेका छन् । वितरक सङ्घ धनकुटाले सम्पूर्ण कारोबार नै बन्द गरेर सडकमै उत्रिएर विरोध जनाएको छ । विरोधका कारण साउन १ गतेदेखि नै पहाडी क्षेत्रमा ढुवानी ठप्प छ ।

उद्योगपतिको लागि यो पद्धति उपयोगी भए पनि डिलर तथा थोक बिक्रेताको लागि उपयोगी नभएको वितरक सङ्घ धनकुटाका अध्यक्ष कृष्णराज श्रेष्ठले जनाए । कम्पनीद्वारा तोकिएको निश्चित मुनाफा र जनशक्ति अभावका कारण यो नियम व्यावहारिक नभएको व्यवसायीको ठहर छ । सरकारले पूर्ववत् अवस्थामै व्यवसाय सञ्चालन गर्न नदिए चरणबद्ध आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिइने वितरक सङ्घ धनकुटाले जनाएको छ ।