काँकरभिट्टाः गत आर्थिक वर्षमा मेची भन्सार कार्यालय काँकरभिट्टाले दर्ता भएका मुद्दाको फछ्र्याेटबाट मात्रै ३ करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७४÷२०७५ बाट सरेर आएका १७ तथा बितेको आर्थिक वर्ष २०७५÷२०७६ मा दर्ता भएका ५ सय ३२ गरी कुल ५ सय ४९ ओटा मुद्दामध्ये ५ सय ३० ओटा फछ्र्याेट भएको कार्यालयको मुद्दा शाखाले जनाएको छ । सोबापत कार्यालयले ३ करोड ३६ लाख ५८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले जानकारी दिए ।

झापाका विभिन्न नाकाबाट अवैध रूपमा हुने चोरीका मुद्दा निकासीभन्दा बढी पैठारीसँग सम्बन्धित हुने गरेका छन् । कार्यालयमा दर्ता भएका चोरी पैठारी सम्बन्धी मुद्दामध्ये अधिकांश पैठारीका रहेका छन् । निकासीतर्फ लगभग १ प्रतिशत मात्रै मुद्दा रहेको मुद्दा शाखाका नायब सुब्बा छत्रबहादुर आलेमगरले बताए ।

जति प्रहरीको सक्रियता बढ्छ कार्यालयमा त्यति नै कम मुद्दा दर्ता हुने गरेको कार्यालयले जनाएको छ । चोरी पैठारीमा यातायातका साधनदेखि मोटर पार्टस, खाद्यान्न, इलेक्ट्रोनिक्स, लत्ता कपडा, जुत्ता चप्पललगायतका सामान रहेका छन् ।

झापाका विभिन्न नाकाबाट अवैध रूपमा हुने चोरी पैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा भन्सारबाट कर्मचारी समेत परिचालन गरिएको प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले बताए । जिल्लाका जुनसुकै क्षेत्रबाट पक्राउ गरिए पनि आवश्यक कारवाहीका लागि सम्बन्धित निकायले प्रतिवेदनसहित मेची भन्सार कार्यालयमा बुझाउने गरेको छ ।