बेलबारीः मोरङको बेलबारी–१ का किसान टेकराज बराल दैनिक २० देखि २५ लिटरसम्म दूध बेच्छन् । उनीजस्तै सोही वडाका विष्णु गिरीले पनि २५ लिटर दूध घर नजिकै रहेको अमना कृषि सहकारी संस्थामा ल्याएर दैनिक बेच्छन् ।

सो सहकारी संस्थासँग भएको दूध नाप्ने एनलाइजर मेसिन बिग्रिएका कारण उनीहरूले बेच्ने दूधको मूल्य निर्धारण गर्न गाह्रो भएको थियो । आइतबार बेलबारी नगरपालिकाले सहकारी संस्थालाई एनलाईजर मेसिन हस्तान्तरण गरेपछि दूध बिक्रेता किसान खुशी भएका छन् ।

१ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको मेसिन हस्तान्तरण गरिएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । सो मेसिनले दूधको शुद्धता र फ्याट (चिल्लो) पदार्थ नाप्ने काम गर्छ ।

पहिलेको मेसिन बिग्रिएपछि सहकारीले किसानलाई गाईको दूधको ४० देखि ५० र भैंसीको दूधको ५० देखि ५५ रुपैयाँ प्रतिलिटर मूल्य दिने गरेको थियो । ‘अब मेसिन आयो किसानले दूधको उचित मूल्य पाउँछन्’, सहकारीका सचिव दिनेश गिरीले भने, ‘सहकारीलाई पनि फाइदा भयो । हामीले पनि दूधको गुणस्तर नाप्न पायौँ ।

सो सहकारीमा ३ सय ५० लिटर भन्दा बढी दूध सङ्कलन हुने गिरीले बताए । मेसिन हस्तान्तरण गर्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले किसानलाई राहत पु¥याउने खालका कार्यक्रम नगरपालिकाले गर्ने बताए । उनले किसानलाई आधुनिक खेतीप्रति आकर्षण गर्नका लागि आधुनिक औजारसमेत वितरण गरेको बताए ।

किसानलाई आधुनिक खेतीप्रति आकर्षित गर्न ‘गरीबसँग नगरपालिका’ कार्यक्रम दिएर बोयर जातको बोका वितरण गर्ने कार्यक्रम समेत ल्याएको उनले बताए ।