काँकरभिट्टाः सशस्त्र प्रहरीले करीब ५ सय केजी प्रतिबन्धित मासु सोमबार बरामद गरी नष्ट गरेको छ । भारतबाट नेपालतर्फ आयात गर्ने क्रममा झापाको मेचीनगर —७ स्थित भान्साखोला क्षेत्रबाट सो परिमाणको मासु सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म झापा राजस्व एवम् भन्सार सुरक्षा गुल्मले बरामद गरेको थियो ।

प्लाष्टिकमा १÷१ केजीका दरले मेसिनले प्याक गरी कार्टुनमा राखेर महिलाले ल्याउँदै गर्दा प्रहरीलाई देखेर भागेका थिए । प्रहरीले नियन्त्रणमा लिएको मासु गोरुको हुन सक्ने आशङ्का गरिएको छ ।

बरामद भएको मासु पशु क्वारेन्टाइन कार्यालयका पशु चिकित्सक मुकेशकुमार सिंह, जनप्रतिनिधि राजकुमार श्रेष्ठ, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी सहायक निरीक्षक बमबहादुर श्रेष्ठसहित पत्रकार र अधिकारकर्मीको रोहवरमा खाल्डो खनेर नष्ट गरिएको सशस्त्र प्रहरी निरीक्षक चिरञ्जिवी प्रसाईंले जानकारी दिए ।

नेपाल सरकारले पंक्षी तथा पंक्षीजन्य वा मासु तथा मासुजन्य पदार्थको आयातमा रोक लगाएको छ ।