धरानः सरकारले साउन १ गतेदेखि लागू गरेको आर्थिक नीतिका केही प्रावधान साना उद्यमी व्यवसायीले कार्यान्यवन गर्न समस्या हुने स्थानीय व्यापारीले गुनासो गरेका छन् ।
सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको भेहिकल कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टमसम्बन्धी अन्तरक्रिया कार्यक्रममा धरानका व्यवसायीले यस्तो गुनासो गरेका हुन् । सानो लगानीमा व्यवसाय गरी आफैँ मजदुरका रूपमा काम गर्नेका लागि समस्या हुने उनीहरूले बताए ।
अन्तरक्रियामा व्यवसायी नवीन तामाङले साना व्यापारीको कारोबार नै सानो भएकाले सिस्टम बुझेको दक्ष कर्मचारी राखेर काम गर्न सक्ने अवस्था नरहेको बताए । उनले भने, ‘हामी साना व्यापारीको कारोबार पनि सानो, बुझ्ने, दक्ष कर्मचारी पनि राख्न नसक्ने छौँ, सामान्य पढाइ भएका साना व्यवसायी आफैँ मजदुर भएका काम गरिरहेको अवस्थामा सिस्टम जानेको बुझेको काम गर्ने अर्को कर्मचारी राखेर व्यवसाय गर्न सक्दैनौँ ।’ एउटै बजारभित्र कारोबार गरिरहेका व्यवसायीका लागि ट्रयाकिङ सिस्टमले झनै अप्ठयारो पार्ने उनको भनाइ थियो ।
त्यसैगरी अन्तरक्रियामा सहभागीले कृषिजन्य उत्पादनमा पनि भीसीटीएस सिस्टम कसरी लागू गर्ने भन्ने विषयमा पनि जिज्ञासा राखेका थिए । कृषि उपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले कृषि उत्पादनमा थोक व्यापारीले खुद्रा व्यापारीलाई र किसानबाट थोक बिक्रेताले वस्तु खरीदबिक्रीमा नियम पालना गराउन सम्भव नहुने बताए ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख एकनाथ पौडेलले सिस्टम एकैचोटि आएकाले समस्याको रूपमा लिएको बताए । सबैतिर सबैले सिस्टम लागू गर्दै गएमा समस्या नआउने उनको भनाइ छ । उनले भने, ‘नयाँ प्रयोग भएकाले सिस्टम मिलाउन नसक्ने जस्तो देखिएको हो, सबैले लागू गर्नुस्, सहज नै हुन्छ ।’ उनले कृषि उपज वस्तुका लागि भीसीटीएस लागू नहुने बताए ।
सङ्घका अध्यक्ष गिरिधारी सापकोटाले उद्योग वाणिज्य महासङ्घ र सरकारबीच भएको सहमतिअनुसार आउँदो शुक्रबारसम्म पर्खने नभए कडा आन्दोलनमा उत्रने बताए । महासङ्घले बनाएको छलफल समितिसँग सरकारले २ पटक छलफल गरिसकेको बताउँदै शुक्रबारसम्म केही निकास आउने अपेक्षा रहेको उनले बताए । आर्थिक नीतिमा केही त्रुटि देखिएकाले व्यापारी, व्यवसायीलाई प्रभाव पार्ने प्रावधान खारेज गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा सङ्घका पूर्व अध्यक्ष अशोक ताम्राकार, उद्योग प्रवद्र्धन समिति धरान उपमहानगरपालिकाका संयोजक कृष्ण अग्रवाललगायतले प्रावधान सच्याउनका लागि सुझाव दिएका थिए ।