विराटनगरः मोरङ व्यापार सङ्घ र विराट व्यापार सङ्घका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई नेपाली काङ्ग्रेसले सोमबार सम्मान गरेको छ । बीपी कोइरालाको ३७ औं जन्मजयन्तीको अवसरमा पारेर पार्टी कार्यालयमा आयोजित कार्यक्रममा दुवै संस्थाका पदाधिकारी तथा सदस्यलाई सम्मान गरिएको काङ्ग्रेसले जनाएको छ ।

सो अवसरमा मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडा, वरिष्ठ उपाध्यक्ष नवीन रिजाल, महासचिव अनिल साहलाई सम्मान गरिएको थियो । त्यस्तै, विराट व्यापार सङ्घका अध्यक्ष सुजन थापालगायतका पदाधिकारी र सदस्यलाई सम्मान गरिएको थियो ।

नेपालको राजनीतिक र आर्थिक क्रान्तिमा उद्योगी व्यवसायीको महत्वपूर्ण योगदान भएकाले दुवै संस्थाका नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको मोरङ काङ्ग्रेसका सचिव नागेश कोइरालाले बताए । मोरङ व्यापार सङ्घका अध्यक्ष मुन्दडाले सरकारले लगाएको अचाक्ली करका कारण उद्योगी व्यवसायी हतोत्साहित भएको बताए ।

कार्यक्रममा वैकल्पिक केन्द्रीय सदस्य हसन अन्सारी, मोरङ सभापति डिकबहादुर लिम्बू, सचिव नागेश कोइराला, मोदराज घिमिरे, प्रदेश सांसद शिवनारायण गन्गाई, महासमिति सदस्य आशाकुमारी सरदारलगायतले उद्योगी व्यवसायीको समस्यामा काङ्ग्रेसको सधैँ साथ रहने आश्वासन दिए ।