धरानः धरान–१२ स्थित महेन्द्रपथमा रहेको सल्लेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपलचलन भएको फेला परेको छ । सहकारीका अध्यक्ष कृष्णबहादुर विश्वकर्माले आफ्नो सुनचाँदी पसलमा सहकारीको रकम लगानी गरेको तथ्य धरान उपमहानगरपालिकाले फेला पारेको छ ।

सहकारीका अध्यक्ष २ सातादेखि सम्पर्कमा नआएपछि सहकारीका अन्य सञ्चालकहरूले धरान उपमहानगरपालिकामा सहकारीको हिसाबकिताब जाँच गरिदिन माग गर्दै निवेदन दिएका थिए ।

सोहीअनुसार धरान उपमहानगरपालिकाको सहकारी विकास समितिले सोमबार सहकारीका खातापाता जाँच गरेको थियो ।

‘सहकारीको पैसा अपचलन भएकै देखिन्छ,’ उपमहानगरपालिकाका १ प्रतिनिधिले भने, ‘अध्यक्षले जनताबाट उठाएको पैसा आफ्नो शिखर सगरमाथा ज्वेलरी इण्डष्ट्रिज प्रालिमा खर्च गर्ने गरेको पाइएको छ ।

‘अहिलेसम्मको अध्ययनले झण्डै ४० लाख रुपैयाँको हिसाब भेटिएको छैन’, सहकारीका प्रबन्धक मोहन दर्नालले जानकारी दिए । दर्नाल सहकारी सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर विश्वकर्माका छोरा हुन् । सहकारी सञ्चालकको परिवारभित्रको व्यक्तिलाई व्यवस्थापकीय पदमा नियुक्ति गर्नु गैरकानुनी मानिन्छ ।

संस्थाकी उपाध्यक्ष विष्णुकुमारी श्रेष्ठले अध्यक्षले रकम हिनामिना गरेको पाइएको बताइन् । ‘हामीले उपमहानगरपालिकालाई निवेदन दिएका थियौँ । सोही अनुसार अहिले छानबिन भइरहेको छ । केही रकम हिनामिना भएको भेटिएको छ’, उपाध्यक्ष श्रेष्ठले बताइन् ।

अध्यक्ष कृष्णबहादुर विश्वकर्माका छोरा मोहन दर्नाल भने आफ्ना बाबु सहकारीको पैसा अपचलन गरेर नभागेको बताउँछन् । ‘बुबा एक्कासी सम्पर्कविहीन हुनुभएको छ । हामी खोजतलासमा लागिरहेका छौँ’, उनले भने ।

सहकारीमा बचतकर्ताको रकम जोखिममा नरहेको उनले बताए । धरान उपमहानगरपालिकाका आर्थिक विकास महाशाखाका प्रमुख भक्तिराज शर्माले सहकारीका सञ्चालकबाट नै खातापाता अध्ययन गरिदिनू भन्ने निवेदन आएकाले अध्ययन भइरहेको बताए । ‘बाँकी कुरा अध्ययनपछि नै पत्ता लाग्छ’, उनले भने ।